सिंगापुरबाट फर्केपछिका प्रधानमन्त्री ओली

तस्बिर: सेतोपाटी।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि १४ दिन सिंगापुरमा बसेपछि शुक्रबार स्वदेश फर्किए। प्रधानमन्त्री ओलीलाई विमानस्थलमा गाडीबाट झर्दा र हिँड्दा सुरक्षाकर्मीले आड दिएका तस्बिरहरू सार्वजनिक भएका छन्।

नेपाल छोडेको १५ औं दिनमा फर्किएका प्रधानमन्त्रीले भने आफ्नो स्वास्थ्य र राजनीतिबारे विमानस्थलमा कुनै प्रतिक्रिया दिएनन्।

बरू उनी स्वदेश फर्किएको केहीबेरमै निजी डाक्टर दिव्या सिंह शाहले विज्ञप्ति जारी गरिन्- प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भएर फर्किनुभएको छ, अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ।

विमानस्थलबाट सिधै बालुवाटार गएका प्रधानमन्त्री त्यसयता बाहिर निस्किएका छैनन्। उनले बालुवाटारमै भेटघाट भने त्यसैदिनदेखि सुरू गरेका छन्।

शुक्रबार नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेलसँग सरकार र पार्टीका कामबारे परामर्श तथा छलफल गरे।

महासचिव पौडेलसँग त शनिबार र आइबार पनि प्रधानमन्त्रीको लामै छलफल भयो।

शनिबार बेलुकी अर्का अध्यक्ष दाहालसँग उनले लामो परामर्श गरे पार्टीको अबको रणनीतिबारे।

‘उहाँहरूबीच पार्टी एकीकरणका बाँकी कामबारे छलफल भयो, प्रधानमन्त्रीज्यूले दोस्रो र तेस्रो बरियताका नेताहरूसँग पनि भेटेर यो १५ दिनमा भएका राजनीतिक विकासक्रमबारे रिर्पाट लिनुभएको छ,’ प्रधानमन्त्री निकट स्रोतले सेतोपाटीसँग भन्यो।

सामान्यतः मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्न गर्छ। आइतबार दिउँसो मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो।

बालुवाटारबाट बाहिर ननिस्किए पनि प्रधानमन्त्रीले अब गरिहाल्नुपर्ने कामको लिस्ट बनाएरै छलफल सुरू गरेको उनीनिकट स्रोतहरूको भनाइ छ।

प्रकाशित मिति: : 2019-09-08 16:50:31

प्रतिकृया दिनुहोस्