अलमलमै अनिवार्य तथा निःशुल्क शिक्षा

तस्बिरः गोरखापत्र

काठमाडौँ, भदौ २२ गते । बर्दियाको बासगढी नगरपालिकाले एक वर्षअघि नै आधारभूत तहमा निःशुल्क तथा अनिवार्य शिक्षा लागू भएको नगरपालिका घोषणा गरे पनि माध्यमिक तहमा निःशुल्क र अनिवार्य गर्न सकेको छैन । सो नगरपालिकाका माध्यमिक तहका विद्यार्थीले विद्यालयको अवस्था हेरी धेरै थोरै शुल्क नतिरी सुख पाउँदैनन् ।

बासगढी नगरपालिकाका शिक्षा प्रमुख मनप्रसाद रेग्मीले भन्नुभयो, “सबै शिक्षकलाई पुग्दो तलब दिन सकिएको छैन । त्यसैले माध्यमिक तहसम्म पूर्ण रूपमा निःशुल्क गर्न सकिँदैन । ”

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन प्रमाणीकरण भएको आउँदो असोज २ गते ठीक एक वर्ष पुग्दै छ । कागजमा अनिवार्य र निःशुल्क शिक्षा त भयो तर व्यवहारमा हुन सकेको छैन । ऐन कार्यान्वयनमा आएको एक वर्ष बित्न लाग्दा पनि नियमावलीको अत्तोपत्तो छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वैशाख २ बाट सुरु भएको नयाँ शैक्षिक सत्रबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पूर्ण निःशुल्क शिक्षा प्राप्त गर्ने प्रतिबद्धता सार्वजनिक रूपमा गरे पनि अलमलमै छ ।

ऐनमा विद्यालय वा शैक्षिक संस्थाले विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै पनि शुल्क असुल नगरी दिइने शिक्षाका रूपमा निःशुल्क शिक्षालाई परिभाषित गरिएको छ । राज्यले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ भने आधारभूत तहसम्म अनिवार्य शिक्षा प्रदान गर्नुपर्छ ।

ऐनमा निःशुल्क शिक्षा प्राप्त गर्दा प्रत्येक नागरिकले ऐन वा अन्य प्रचलित कानुनबमोजिमका सर्त पालना गर्नुपर्ने उल्लेख गरिए पनि त्यस्तो सर्त तयार गरिएको छैन । अभिभावकलाई आफ्ना सन्तानलाई आधारभूत तहसम्म अनिवार्य रूपमा विद्यालय पठाउन बाध्यकारी बनाउन सरकार सफल भएको छैन । ऐनमै प्रत्येक स्थानीय तहमार्फत राज्यले चार वर्ष पूरा भई १३ वर्ष उमेर पूरा नभएका प्रत्येक बालबालिकालाई आधारभूत तहसम्म अनिवार्य शिक्षा प्रदान गर्नुपर्ने व्यवस्था प्रस्ट उल्लेख छ ।

मासिक शुल्क नभनेर वार्षिक वा सहयोग शुल्कका नाममा सामुदायिक विद्यालयहरूले शुल्क उठाउँदै आएका छन् । गुणस्तरीय शिक्षाका लागि निजी स्रोतबाट राखिएका शिक्षकको तलब व्यवस्थापन गर्न शुल्क उठाउनु परेको तर्क विद्यालयका प्रधानाध्यापकहरूको छ ।

काठमाडौँको ज्ञानोदय माध्यमिक विद्यालयलाई प्रारम्भिक बाल विकासका लागि सरकारले एक जना सहयोगी कार्यकर्ताको कोटा उपलब्ध गराएको छ जब कि त्यस माविले १२ जना सहयोगी कार्यकर्तालाई निजी स्रोतमा राखेको छ । अन्य तहका गरी विद्यालयमा ५० जना निजी स्रोतका शिक्षक छन् ।

सरकारले त्यस माविलाई व्यवस्थापन खर्च भनेर वार्षिक १८ हजार रुपियाँ एकमुष्ठ उपलब्ध गराउने गरेको छ । बिजुली प्रयोग गरेबापत गत महिना २९ हजार रुपियाँको बिल आएको सो माविले मासिक रूपमा कम्तीमा ३६ हजार रुपियाँ खानेपानी खरिदमा खर्च गर्दै आएको छ ।

ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनले सहयोगस्वरूप भनेर अभिभावकसँग रकम उठाउने गरिएको बताउँदै भन्नुभयो, “आवश्यक सङ्ख्यामा शिक्षक उपलब्ध नगराएपछि शुल्क उठाउनु हामीहरूको बाध्यता हो । बिजुली, खानेपानी, मर्मतसम्भार आदिका लागि पनि ठूलै रकम चाहिन्छ । कि ती सेवा विद्यार्थीलाई उपलब्ध गराउन सक्दैनौँ भन्नुपर्छ, होइन भने शुल्क उठाउनैपर्ने हुन्छ । ”

प्रकाशित मिति: : 2019-09-08 07:13:06

प्रतिकृया दिनुहोस्