मिलेसम्म रिलेसन, नभए साइबर अपराध

काठमाडौं : महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् ।

उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौं’, उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ ।’ ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रूप लिएपछि किशोरी डिप्रेसनमा गएकी छन् । परिवारले उनलाई मनोपरामर्श दिएर राखेको छ ।

कीर्तिपुरमा डेरा बस्ने एक किशोरी र ठमेलको डान्सबारमा काम गर्ने युवकबीच फेसबुकमा चिनजान भयो । किशोरीको इच्छा डान्सर बन्ने थियो । युवकले आफ्नै डान्सबारमा काम गर्न सुझाए । राति मात्रै डान्सबारमा काम गर्नुपर्ने हुँदा किशोरीलाई घर पुर्‍याउनुपर्ने समस्या आयो । झन्डै तीन महिना रिलेसनसिपमा बसेपछि खटपट सुरु भयो । कारण थियो– फेसबुकमा केटी साथीसँग युवकको च्याटिङ ।

‘मलाई यौनसम्बन्धका लागि मात्रै उसले प्रयोग गर्‍यो’, महाशाखाका एसपी सुशीलसिंह राठौरसमक्ष गत साता किशोरी भन्दै थिइन्, ‘यसका त धेरै केटी रहेछन् । म विवाह गर्ने योजनाअनुसार रिलेसनमा बसेकी थिएँ तर अब बस्दिनँ ।’ उनको कुरा सुनेपछि युवकले जवाफ फर्काए, ‘मलाई यसले आफ्नो जात ढाँटी । परिवारलाई सम्झाउँछु भन्दा पनि मसँग निहुँ खोज्छे ।’

प्रहरीमा पुग्नुअघि ती युवक र किशोरी छुट्टै बस्न थालेका थिए । अचानक एक दिन युवकले किशोरीको मोबाइलमा अश्लील फोटो पठाए । १६ वर्षकी ती किशोरीले जबर्जस्ती करणी र साइबर अपराधमा मुद्दा दिएकी छन् ।

नुवाकोटका विवाहित युवाले काठमाडौंकी युवतीसँग फेसबुकमा चिनजान गरे । आफू अविवाहित रहेको र राम्री युवती पाए घरजम गरी अस्ट्रेलिया जाने बताए । युवतीलाई विदेशको मोहले तान्यो । असार दोस्रो साता सुन्धारामा भेटे । दुई रात सँगै बिताए । युवक शौच गएका बेला युवतीले उनको मोबाइलमा धेरै युवतीको अश्लील फोटो देखिन् । उनले यसबारे सोध्दा युवकले धम्की दिए, ‘यी फोटा गुगलबाट डाउनलोड गरेको हुँ । बढी बोलिस् भने तेरो पनि फोटो खिचेको छु । सार्वजनिक गरिदिन्छु ।’

युवतीले महाशाखामा उजुरी दिएपछि ती युवक पक्राउ परे । नुवाकोटमा पहिल्यै उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोली उनलाई लिन महाशाखा पुगेको थियो । प्रहरी अनुसन्धानका अनुसार ती युवकले अर्की दुई युवतीलाई पनि अस्ट्रेलियाको प्रलोभन देखाएर यौनतृष्णा मेटेका थिए ।

यस्तै, गायक एवं मोडल विमल अधिकारीले म्यासेन्जरमा आएको लिंक खोल्न खोज्दा उनको फेसबुक ह्याक भयो । उनी महाशाखाको शरणमा पुगे । साइबर युनिटले अध्ययन गर्दा ह्याकरले ‘फिसिङ’मार्फत फेसबुक ह्याक गरेको पाइएको थियो । कलाकार क्षितिजा शाक्य र सञ्चारकर्मी सविना कार्कीका फेसबुक पनि उसरी नै ह्याक भए । मिस तामाङ रञ्जिता तामाङको फेसबुक पेज ह्याकरले ह्याक गर्‍यो । पेजमा अश्लील भिडियो पोस्ट भयो । त्यसबारे प्रहरीले पत्ता लगायो ।

साइबरसँग सम्बन्धित उजुरी लिएर पीडित प्रहरीमा दैनिक आउँछन् । घटनाको गाम्भीर्य हेरी प्रहरीले सम्झाइबुझाइ गरी पनि पठाउँछ । युवतीको अस्मितासँग गासिएका घटनामा भने मुद्दा चलाइँदै आएको महाशाखाले जनाएको छ । गत आर्थिक वर्ष प्रहरीमा साइबरसम्बन्धी २ हजार २९ उजुरी आएका थिए । सबैभन्दा बढी फेसबुकसँग सम्बन्धित थिए ।

प्रकाशित मिति: : 2019-09-07 19:39:02

प्रतिकृया दिनुहोस्