चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं सुकेधारा डेरा गरी बस्ने काभ्रे घर भएका २४ वर्षीय रविन थापा,भक्तपुर सूर्यविनायक बस्ने मोरङ काजेपोखरी गाउँपालिका–५ घर भएका २४ वर्षीय प्रकाश दर्लामी, काठमाडौं गुर्जुधारा बस्ने उदयपुर त्रियुगा नगरपालिका ११ घर भएका २३ वर्षीय लक्सन तामाङ र भक्तपुर नगरपालिका–४ बस्ने २६ वर्षीय इन्द्र प्रसाद कपाली रहेका छन् ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु.२ ख ३८९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार थापालाई डाइजेपाम १ सय २० एम्पुल, नोर्फिन ९६ एम्पुल र फेनारगन १ सय ४५ एम्पुल सहित शनिबार बिहान पक्राउ गरेको हो ।
यसैगरी नागढुंगाबाटै लागूऔषध नाइट्राभेट ५ सय ५४ ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित दर्लामी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना.७ ख ७७३० नम्बरको बस जाँच गर्ने क्रममा बसका चालक दर्लामी र सहचालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।
साथै प्रहरीले उक्त लागूऔषध लिन आएका भक्तपुर, भक्तपुर नगरपालिका–४ बस्ने २६ वर्षीय इन्द्र प्रसाद कपालीलाई काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ ढुङगेअड्डाबाट पक्राउ गरेको छ ।