प्रदीप भट्टराई
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली निर्देशनले प्रशासन र अध्यादेशले शासन चलाउन बदनाम छन् । यसअघि तीनपटक प्रधानमन्त्री हुँदा धेरै अध्यादेश ल्याउने कीर्तिमान बनाएका उनी आफ्नो चौथो कार्यकालमा पनि त्यही लयमा फर्किएका छन् । पुस १४ गते सहकारी सम्बन्धी अध्यादेश जारी गरेर समातेको त्यो लयले पुस २६ पछि अरू गति पक्ड्यो । यही क्रममा उनले एकैपटक चारवटा अध्यादेश जारी गरेर अध्यादेशको कोतपर्व नै मच्चाइ दिए । एकैपटक २९ वटा ऐन प्रभावित बनाउने यी अध्यादेशहरूको असर कस्तो हुन्छ?, अहिले नै यसै भन्न सकिने अवस्था छैन । त्यसका लागि केही समय पर्खनैपर्ने हुन्छ ।
ओलीको अध्यादेशको यो इनिङलाई लिएर मिश्रित प्रतिक्रिया मिलेको छ । प्रतिपक्षी दल, नागरिक समाज र मिडियाको स्वर समर्थनमा छैन । उनीहरू खासगरी अध्यादेशले नै शासन चलाउने ओली-मनसाय र अध्यादेश-समयलाई लिएर विरोध गरिरहेका हुन् । ओलीले कानूनी गाँठो फुकाउनभन्दा पनि मनमौजी शासन गर्ने मनसायले अध्यादेश ल्याएको उनीहरूको आरोप छ । उनीहरू के पनि भनिरहेका छन् भने हिउँदे अधिवेशनको समय घर्किसकेको यो बेला अध्यादेश ल्याउने समय नै हैन ।
अध्यादेशको पक्षमा झिनो समर्थन देखिएको छ । त्यो समर्थन भनेको सरकारमा रहेको एमाले र काँग्रेसको संस्थापन जत्थाको मात्र हो । उनीहरूको तर्क छ, अध्यादेश ल्याउने सरकारको अधिकार हो र उसलाई काम गर्न अप्ठ्यारो पर्दा कुनै पनि बेला अध्यादेशमार्फत समस्याको गाँठो फुकाउन सक्छ ।
उनीहरू यसो पनि भनिरहेका छन् कि नेपालमा कानुन बनाउने संसदीय प्रक्रिया लामो र झन्झटिलो भएकाले सरकारले यो बाध्यताको विकल्प रोज्नु परेको हो । केही समयपछि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा यसलाई प्रक्रियामा लगेर सरकारले अनुमोदन गराइहाल्छ ।
तर, विरोध गर्नेहरू यो तर्कमा खासै दम भेट्दैनन् । उनीहरूको तर्क छ, संसद्को हिउँदे अधिवेशन डाक्न तीन हप्ता ढिलो भैसकेको यतिबेला संसद् छल्नकै लागि यो अध्यादेश ल्याइएको हो । सरकारको नियत नै खराब छ ।
उनीहरू अध्यादेशको विषयवस्तुमा प्रवेश गरेकै छैनन् । उनीहरू पनि ऐन कानूनको संशोधन वाञ्छनीय हुन सक्ने र यो सरकारको तजबिजी अधिकारको कुरा हुनेमा सहमत छन् । तर, यो संसद् अधिवेशन डाक्न नसकिने अवस्थामा तत्कालै केही गर्नैपर्ने भयो भने कानूनी बाधा अड्काउ फुकाउनका लागि मात्र हो । अहिलेको अवस्थामा यी दुबै परिस्थिति देखिँदैन ।
नेपालको संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकीकरण र सन्तुलनको प्रस्ट व्यवस्था छ । जसअनुसार कानुन बनाउने काम व्यवस्थापिकाको हो भने त्यसको कार्यान्वयन गर्ने काम कार्यपालिकाको हो । कार्यान्वयन विधिसम्मत छ कि छैन भनेर पर्गेल्ने काम चाहिँ न्यायपालिकाको हो ।
राज्यका यी तीन अंग बाहेक अरू पनि अङ्गहरू अनौपचारिक रूपमा थपिएका छन् । चौथो अंगका रूपमा पत्रकारिता अलि बढी प्रचलनमा छ जसको दायित्व राज्यका तीनवटै अंगको खबरदारी गर्ने भनिएको छ । यद्यपि, यसले पनि प्रभावकारी भूमिका निर्वाह गरिरहेको देखिँदैन ।
संवैधानिक व्यवस्थाअनुसार नै सार्वभौम संसद्ले विधिसम्मत कानुन बनाउन पाउनुपर्ने हो । त्यसका लागि सरकारले संसद् संसद्मा विधेयक लैजानुपर्ने हो । कानुन बनाउनकै लागि भनेर संसद्को हिउँदे अधिवेशनको व्यवस्था गरिएको छ । सरकार इमानदार हुन्थ्यो भने यतिबेला संसद्को हिउँदे अधिवेशन तेस्रो सातामा चलिरहेको हुन्थ्यो र दुई तिहाइ बहुमत रहेको सरकारले चाहेकै जस्तो विधेयक फास्ट ट्रयाकमार्फत कानुन पनि बनिसकेको हुन्थ्यो । तर, ओली सरकार संसद्को अधिवेशन नै समयमा नबोलाएर अध्यादेशमार्फत शासन गर्ने मनसायमा देखिन्छ ।
हुन त नेपालको संसद्ले कानुन बनाउनै नसकेको अवस्था छ । केही विधेयक अधिवेशन त एउटै पनि कानुन नबनाई सकिएका दृष्टान्त छन् । यसो हुनुकन एक हैन अनेक कारण छन् । पहिलो कारण त सरकारले संसदलाई कानुन बनाउने ‘बिजनेस’ दिँदैन ।
छोटो छोटो समयमा फेरिरहने अस्थिर सरकारका कारण पनि यसो भएको हो । दोस्रो कारण, बिजनेस पाएर पनि मिनी संसद्का रूपमा रहेका संसदीय समितिहरू कामकाजी हुन नसक्नु हो । अहिले पनि २० वटा विधेयक संसदीय समितिमा छन् तर एकाधलाई छोडेर कुनै पनि विधेयक प्रक्रियाबाट अगाडि बढ्न सकेका छैनन् । कोरम नै नपुगेर समितिका बैठकहरू पटक पटक बस्न नसकेका लाजमर्दा समाचारहरू बाहिरिइरहेका छन् ।
यसका लागि सबैभन्दा धेरै दोषी कोही हुन्छ भने त्यो भनेको सरकार चलाउने दल वा गठबन्धन नै हो । त्यसमा पनि ती दलको प्राधिकर लिएका सुप्रिमोहरू नै मूलतः जिम्मेवार छन् । नेपालमा पछिल्लो संविधान जारी भएपछि नेपालमा कांग्रेस, एमाले र माओवादी नै तीन ठूला दल रहँदै आएका छन् । र, तीनका मूल नेतृत्वकर्ता देउवा, ओली र प्रचण्ड सुप्रिमोका तीन दलीय सिण्डिकेटको नेतृत्व गर्दै आलोपालो सरकार चलाइरहेका छन् ।
संसदीय समितिहरूमा पनि भागबन्डा र तथाकथित समावेशीका नाममा नालायक नेतृत्व पठाइरहेका छन् । यही कारण संसदीय समितिको काम कारबाही प्रभावित भएर संविधानको आवश्यकता र मर्मअनुसार कानुन बन्न सकिरहेका छैन ।
अझ, कतिपय अवस्थामा त सरकारले चाहेभन्दा फरक मत संसदीय समितिमा बहुमतमा पुग्दा सरकार नै त्यसलाई तुहाउन लागेका दृष्टान्तहरू पनि छन् । त्यसैको पछिल्लो दृष्टान्त हो, राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी विधेयक संशोधन हुन नसक्नु । सत्तारूढ गठबन्धनकै सांसदको नेतृत्वमा गठित उपसमितिले पारित गरेर समितिमा पठाइसकेको संशोधन विधेयक त्यही अड्केको छ । ओली र देउवाले रेड सिग्नल देखाएपछि सत्तारूढ दलकै नेतृत्व रहेको समितिका सभापतिले संशोधन अड्काएका हुन् ।
ओली त अध्यादेशका लागि विवादित र बदनाम थिए नै, यसपटक देउवा–गगनको नयाँ गठजोड पनि मतियार बनेको छ । त्यसमा पनि कांग्रेस महामन्त्री गगन थापा त सियो, धागो र टालो सबै जोहो गरेर रफु टाल्न अग्रपङ्क्तिमा उभिएका छन् । उनले सरकार बनाउँदा गरिएको सात बुँदे सहमतिको तेस्रो बुँदाअनुसार आफ्नै प्रस्तावमा अध्यादेश ल्याइएको सार्वजनिक गरेका छन् ।
स्मरणीय होस्, सात बुँदेको तेस्रो बुँदामा ‘अर्थतन्त्रमा विद्यमान शिथिलतालाई विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधि चलायमान बनाउने तथा बाह्य लगानीलाई प्रोत्साहित गरी मुलुकभित्र पर्याप्त र मर्यादित लगानी सिर्जना गर्ने’ भनिएको छ ।
गगनको यो उद्घोषले उनी पनि देउवाको उत्तराधिकारी हुने मोहमा पूरै अध्यादेशको चास्नीमा डुबेजस्तो देखिएको छ । सरकारका तीन अङ्गहरूबिच शक्ति पृथकीकरण र सन्तुलनको पैरवी गर्दै आएका उनी एकाएक यसरी ‘पूरा फर्क’ को स्थितिमा पुग्नु त्यसैको प्रमाण हो । गगनले के बुझ्नुपर्छ भने लोकतन्त्र भनेको सरकारले जारी गर्ने अध्यादेशले शासन गर्ने नभएर संसद्ले बनाएका कानुनहरूले शासन गर्ने राजनीतिक पद्धति हो ।
संसद् छलेर अध्यादेशमार्फत शासन गर्नु कुनै पनि लोकतान्त्रिक सरकारको चरित्र हुन सक्दैन । यस कोणबाट हेर्दा गगन यसपटक आफूले अँगाल्दै आएको मूल्य र मान्यताबाट नराम्ररी चिप्लिएका छन् । त्यसबाट उनलाई राजनीतिक फाइदा हुन्छ कि बेफाइदा ? त्यसको वासलात भने समयको ऐनामा हेर्नुपर्ने हुन्छ ।
गगनका केही समर्थकहरू ओलीले यसपटक उनलाई पनि नराम्ररी चिप्लाएको बताइरहेका छन् । उनीहरूको भनाइ छ, यसअघि रवि लामिछानेलाई सरकारी घाँस खुवाएर पुरानै कित्तामा पु¥याएका ओलीले यसपटक गगनलाई अध्यादेशको कालो टीका लगाइदिए ।
अवस्था परिवर्तन, पुस्तान्तरणलगायतका बिकाऊ नारा दिएर महामन्त्रीसम्म पुगेका गगन केही समययता देउवाको उत्तराधिकारी हुने लाइनमा छन् । सभापति हुनका लागि उनले कित्ता परिवर्तन गरेको भन्नेहरूको कमी छैन । यद्यपि, उनका समर्थकहरू अहिले नै स्थिति त्यति पर पुगेको कुरा मान्न तयार छैनन् ।
अब प्रश्न उठ्छ, अध्यादेशको कोतपर्व मच्चाइरहेको सरकारले कहिले संसद्को हिउँदे अधिवेशन बोलाउँछ र यी अध्यादेशहरूलाई अनुमोदनको प्रक्रियामा लैजान्छ ? यसै पनि विधेयक अधिवेशन भनिने संसद्को हिउँदे अधिवेशन बोलाउन तीन साता ढिलो भैसकेको छ ।
यो अधिवेशन सरकारका लागि सहज नहुने निश्चित छ । सरकारले प्रतिपक्षी दलहरूलाई मोर्चाबन्दी गर्न अनेक मुद्दा दिइरहेको छ । तीनै मुद्दामा टेकेर उनी संसद् घेराबन्दी गर्ने बताइरहेका छन् । त्यस्तो भयो भने सरकार र सत्तारूढ गठबन्धनले संसद् चलाउनै सक्दैन । यही निष्कर्षमा पुगेर नै अध्यादेशको कोतपर्व मच्चाइएको हुनुपर्छ ।
यसपटक सरकार ओलीले मात्र चलाइरहेका छन् भन्ने अवस्था छैन । ओलीमाथि देउवा हाबी छन्, देउवामाथि आरजु । आरजु जसरी भए पनि ओलीको परराष्ट्रमन्त्रीका रूपमा आफ्नो कार्यकाल बढाउन र त्यसपछि भरिसक्य आफैँ नभए श्रीमान्लाई प्रधानमन्त्री बनाउने रणनीतिमा छिन् । उनको यो महत्त्वाकाङ्क्षी रणनीतिको काँधमा बन्दुक राखेर नै ओली अध्यादेशको बन्दुक पड्काइरहेका छन् । यसबाट ओली कांग्रेसको अनुहारमा पनि बारूदको बालो पोत्न सफल भएका छन् ।
समग्रमा देश अनेक सत्ता प्रयोगहरूको प्रयोगशाला भएको छ । स्थीर सरकार दिने र देशमा सुशासन र आर्थिक विकासको दुन्दूभी बजाउने भनेर बनाइएको एमाले–कांग्रेसको सत्ता गठबन्धन पनि त्यसैको पछिल्लो श्रृंखला हो ।
सामान्यतः बहुदलीय लोकतन्त्रमा संसद्का दुई ठूला दल मिलेर सरकार बनाउने चलन नै हुँदैन । त्यही अपवाद प्रयोग गरेर पनि नेपाललाई अजीवको प्रयोगशाला बनाइयो । यसले केही परिणाम दिन्छ कि भनेर ‘पर्ख र हेर’को स्थिति बनेको पनि हो । तर, यो प्रयोगशालामा जे जे प्रयोग भइरहेको छ, त्यो हेर्दा आशावादी हुनुपर्ने खासै आधार देखिँदैन । अध्यादेशको कोतपर्वको रूपमा मच्चाइएको पछिल्लो प्रकरणले पनि अरू निराशा नै बढाएको छ ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया