रिमा केसी
रङ्गमञ्चमा प्रस्तुत हुने सबै नाटकले समयको इतिहास लेख्दैनन्। केही नाटक मनोरञ्जनका लागि बन्छन् तर केही यस्ता पनि हुन्छन्, जसले समाजको अन्तरआत्मासँग संवाद गर्छन्। ‘जिउँदो आकाश’ त्यही श्रेणीको एउटा विल्कुलै फरक नाटक हो।
यसले तेस्रो लिङ्गी, लैङ्गिक अल्पसंख्यक वा LGBTQIA+ समुदायको कथा मात्र भन्दैन, बरु फरक पहिचान भएका मानिसहरूप्रति हाम्रो समाजले निर्माण गरेका पूर्वाग्रह, अस्वीकार र अदृश्य हिंसाको संरचनालाई प्रश्न गर्छ। त्यसैले यो नाटक कुनै एक समुदायको प्रतिनिधित्वभन्दा बढी हाम्रो सामूहिक चेतनाको परीक्षण पनि हो।
चन्द्र पाण्डेको लेखनको सबैभन्दा उल्लेखनीय पक्ष पात्रलाई पीडाको वस्तु होइन, पूर्ण मान्छेका रूपमा प्रस्तुत गर्नु हो। गरिमा (गौरव) कुनै व्यक्तिगत पात्र मात्र होइनन्, उनी जन्मेदेखि आफ्नो अस्तित्वको वैधता प्रमाणित गर्न बाध्य बनाइएका असंख्य मानिसहरूको साझा प्रतिनिधि हुन्। शरीर र आत्माको द्वन्द्व, परिवारको अस्वीकार, विद्यालयको उपहास, समाजको तिरस्कार र सम्मानपूर्वक बाँच्ने निरन्तर संघर्षले उनको जीवनलाई एउटा गहिरो सामाजिक रूपकमा रूपान्तरण गरेको छ। यसरी नाटकले व्यक्तिगत कथालाई सामूहिक यथार्थमा विस्तार गर्छ।
यस नाटकको सबैभन्दा बलियो पक्ष यसको सोलो पर्फर्मेन्स हो। सम्पूर्ण नाटक एउटै कलाकारको काँधमा अडिएको छ, तर त्यो भार कतै पनि अभिनयको सीमिततामा बदलिँदैन। अनिल सुब्बा मञ्चमा एक्ला देखिए पनि दर्शकले कहिले बुबा, कहिले आमा, कहिले शिक्षक, कहिले साथी, कहिले समाज र कहिले गरिमा स्वयंलाई देखिरहेको हुन्छ। पात्र फेरिँदा स्वर, हाउभाउ, शरीरको लय र मनोविज्ञानसमेत बदलिन्छ। यो रूपान्तरण यति स्वाभाविक छ कि केही समयपछि दर्शकले मञ्चमा एउटै कलाकार रहेको तथ्य नै बिर्सिन थाल्छ। एकल अभिनयको यस्तो नियन्त्रण र सहजता नेपाली रङ्गमञ्चमा विरलै देख्न पाइन्छ। मैले आजसम्म धेरै नाटक हेरें तर यस्तो एउटै पात्रले बहु पात्रको भूमिका निर्वाह गरेको पहिलो पटक हेरें। मज्जा आयो।
अनिल सुब्बाको अभिनय कतिपय क्षणमा यस्तो तीव्र लयमा बग्छ कि दर्शक केवल कथा वा नाटक मात्र हेर्दैन, पात्रसँगै सास फेर्न थाल्छ।
नाटकले उठाएको प्रश्न अभिनयभन्दा पनि ठूलो छ। आज समाजमा लैङ्गिक अल्पसंख्यक समुदायलाई खुलेरै अपमान नगर्ने प्रवृत्ति बढेको हुन सक्छ, तर उपहास, व्यंग्य, हाउभाउ, मौन बहिष्कार र सामाजिक दूरीका माध्यमबाट गरिने विभेद अझै समाप्त भएको छैन। शब्द बदलिएका छन्, दृष्टि धेरै ठाउँमा बदलिएको छैन। यही अदृश्य हिंसालाई ‘जिउँदो आकाश’ले कलात्मक रूपमा उजागर गर्छ। यसले सम्झाउँछ—विभेद केवल गालीमा हुँदैन, कहिलेकाहीँ मौनतामा पनि हुन्छ।
भण्डै एक दशकअघि पहिलो पटक मञ्चन भएको यो नाटक आज पुनः प्रदर्शन हुनु आफैंमा अर्थपूर्ण छ। किनभने समय अघि बढे पनि सामाजिक चेतनाको यात्रा त्यति छिटो भएको छैन। पछिल्ला वर्षहरूमा साहित्य, सिनेमा र वृत्तचित्रमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका कथाहरू केही बढी देखिन थालेका छन्।
यद्यपि नाटकले उठाएको विषयको गहिराइलाई हेर्दा, कथानकका केही मनोवैज्ञानिक तहहरू अझ विस्तार गर्न सकिने सम्भावना देखिन्छ। पात्रको आन्तरिक द्वन्द्व र भावनात्मक यात्रालाई केही ठाउँमा अझ विस्तृत रूपमा विकास गरिएको भए दर्शकको तादात्म्य अझ प्रगाढ बन्न सक्थ्यो। तर यो सीमाभन्दा बढी यसको सम्भावनाको संकेत हो।
नाटक हेर्दा एउटा रोचक द्वन्द्व मनमा खेलिरहन्छ— म गरिमालाई तेस्रो लिङ्गीका रूपमा हेरिरहेको छु कि केवल एउटा मान्छेका रूपमा? सायद यही प्रश्न नै नाटकको सबैभन्दा ठूलो उपलब्धि हो। जब कुनै पात्र आफ्नो पहिचानको घेराभन्दा माथि उठेर शुद्ध मानवीय संवेदनाको प्रतिनिधि बन्छ, त्यहीँ कला आफ्नो उच्चतम बिन्दुमा पुग्छ।
‘जिउँदो आकाश’ अन्ततः कुनै विशेष समुदायका लागि बनाइएको नाटक होइन। यो बहुसंख्यक समाजका लागि बनाइएको ऐना हो। यसले सहानुभूति माग्दैन, सम्मानको आग्रह गर्छ। दया होइन, समान अस्तित्वको अधिकारको पक्षमा उभिन्छ। यसले हामीलाई सिकाउँछ— मानिसलाई उसको पहिचानले होइन, उसको मानवताले चिन्ने समाज नै वास्तवमा सभ्य समाज हो।
आजको नेपाली रङ्गमञ्चमा ‘जिउँदो आकाश’ केवल एउटा सफल प्रस्तुति होइन, यो सामाजिक चेतना, सांस्कृतिक प्रतिरोध र मानवीय गरिमाको पक्षमा गरिएको कलात्मक हस्तक्षेप हो। नाटक सकिएपछि पनि एउटा प्रश्न लामो समयसम्म मनमा गुञ्जिरहन्छ—हामीले साँच्चै फरक पहिचान भएका मानिसहरूलाई स्वीकार गर्न सिकेका छौँ, कि अझै पनि उनीहरूलाई आफ्नै पूर्वाग्रहको साँघुरो आकाशमुनि बाँच्न बाध्य पारिरहेका छौँ? यही प्रश्न नै ‘जिउँदो आकाश’ को स्थायी शक्ति हो।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया