‘पर्यटन क्षेत्रः आर्थिक वृद्धि, रोजगारी सिर्जना र वैदेशिक मुद्रा आर्जनको आधार’- अर्थमन्त्री डा. खतिवडा

तस्बिरः बिएल

अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटन क्षेत्र मुलुकको द्रुत आर्थिक वृद्धि, रोजगारी सिर्जना, वैदेशिक मुद्राआर्जनलगायतको महत्वपूर्ण आधार भएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट विनियोजन विधेयकअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिएका हुन्। सरकारले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले विमानस्थलको क्षमता, विस्तार र स्तरोन्नतिको काम अघि बढाएको बताए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने काम अन्तिम चरणमा पुगेको र यही जुन महीनाभित्रै २४ घण्टा सञ्चालन गर्न मिल्ने जानकारी दिए। अर्थमन्त्री डा खतिवडाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि अन्तिम चरणमा पुगेको, पोखरा विमानस्थल दुई वर्षभित्रै सम्पन्न गर्ने गरी काम अघि बढेको र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी अवधारणामा निर्माण गर्ने काम अघि बढेको जानकारी दिए।
पर्यटनका अन्य पूर्वाधार विकासका लागि काठमाडौँ र पोखरा केन्द्रित पर्यटन क्षेत्रलाई मुलुकभर विस्तार गर्न बजेटमार्फत कार्यक्रम अघि बढाएको उनको भनाइ थियो। सरकारले धार्मिक, साहसिक, मनोरञ्जनलगायत पर्यटनका क्षेत्रलाई विकास गर्न कार्यक्रम अघि बढाएको छ। उनले हवाई सुरक्षाका सन्दर्भ युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूची राखेकोमा त्यसलाई हटाउन पहल भइरहेको र साताभरिको मौसमको अग्रिम सूचना दिई हवाई दुर्घटनाको सम्भावना कम गर्ने काम अघि बढाएको जानकारी दिए।
गोरखा भूकम्पमा भत्केका सांस्कृतिक सम्पदाको पुनःनिर्माणका सम्बन्धमा अर्थमन्त्री खतिवडाले विश्वसम्पदा सूचीमा रहेका पुरातात्विक सम्पदाका लागि पर्याप्त बजेट व्यवस्था गरिएको तथा रानीपोखरी र धरहरा निर्माणले तीव्रता पाएको जानकारी गराए। राष्ट्रिय योजना आयोगको सचिवालयका सम्बन्धमा अर्थमन्त्री डा खतिवडाले संविधान र सरकारको उद्देश्यअनुसार समन्यायिक विकास, तीन तहका सरकारबीच समन्वय गर्न, व्यवस्थित विकास गर्नलगायत कार्यका लगि योजना आयोगको अवश्यकता रहेको स्पष्ट पारे। आयोगको प्रभावकारिता बढाउन आवश्यक रहेको उल्लेख गर्दै उनले अहिले आयोगको औचित्य र स्वायत्तताका सम्बन्धमा प्रश्न नगर्नसमेत आग्रह गरे। राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गर्ने छुट्टै विधि नभएकाले अपेक्षित सफलता हासिल हुन नसकेको भन्दै यसमा थप छलफल आवश्यक छ उनले भने।
आगामी दिनमा योजना निर्माणमा प्रदेश र स्थानीय तहसँग समन्वय गरेर नै आयोगले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउँदै अर्थमन्त्री खतिवडाले स्मार्ट सिटी र शहरी विकासलगायत विभिन्न कामका लागिसमेत योजना आयोगले थिङ्क ट्यांकका रुपमा काम गरिरहेको अवगत गराए।

 

प्रकाशित मिति: : 2019-06-25 15:28:29

प्रतिकृया दिनुहोस्