नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आब्हान गरेको बन्दका कारण राजधानी काठमाडौंका विद्यालय, बजार र कलकारखानामा प्रभाव परेको छ।
आफ्ना कार्यकताको हत्या तथा पक्राउको विरोधमा विप्लव माओवादीले मंगलबार नेपाल बन्दको घोषणा गरेका थिए। बन्दले जिल्लामा सबैभन्दा बढी प्रभाव पारेको छ।
लामो रुटका गाडीहरू राम्रोसँग चल्न सकेका छैनन्। प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार देशभरी २८ स्थानमा शंकास्पद वस्तु फेला परेका छन्।
‘मानिसहरूमा भय सिर्जना गर्न तार हुक गरेर शंकास्पद वस्तु राखेको भेटिएको छ,’ पोखरेलले भने।
उनले कीर्तिपुर र ललितपुरको जावलाखेलमा शंकास्पद वस्तु राखिएको भेटिएको बताए।
कीर्तिपुरको नयाँ बजारको गेटमा बिहान ५ बजे रातो झन्डाले बेरिएको बोतलजस्तो वस्तु भेटिएको प्रहरीले बताइए पनि त्यो बम नभएको जनाइएको छ।
सोमबार राती छुटेका लामो दूरीका सवारीसाधन प्रहरीको स्कर्टिङमा सम्बन्धित स्थान पुर्याइएको छ।