अबको ६/७ महिनाभित्रै बजेट परिमार्जन हुन्छः प्रकाशचन्द्र लोहनी

तस्बिरः बिएल

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक अवस्था असन्तुलित भएको टिप्पणी गरेका छन्। बजेटले आर्थिक असन्तुलन ल्याउने लोहनीले जिकिर गरे। उनले भने,‘अर्को ६–७ महिनाभित्रै बजेट परिमार्जन हुन्छ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. लोहनीले यस्तो बताएका हुन्। ‘अहिलेको बजेटमा खर्च वृद्धि भएको छ। यो बजेटले खर्चलाई काबुमा राख्न सकेको छैन। बजेटमा आम्दानीको कुरा जो छ, त्यो बढेको छैन। लगानी वृद्धि हुन सकेको छैन।’

उनले वर्षभरिको राजश्वको आम्दानीले वर्षको खर्च धान्न सक्ने अवस्था नरहेको स्पष्ट पारे। वर्तमान सरकारको यो एक वर्षको अवधिमा भएको क्रियाकलापले वैदेशिक लगानी आउने लक्षण नरहेको पनि उनको दाबी छ।

लोहनीले बजेटले मुलुकका मूल समस्याहरुलाई सम्बोधन गर्न नसकेको आरोप लगाए। ‘अहिले राजश्व दुरुपयोग भइरहेको छ । भ्रष्टाचार दिनदिनै बढिरहेको छ। आर्थिक अनुशासन छैन । यी सबै कुरालाई नियन्त्रण गर्ने लक्षण देखिएन।’

सरकारले भ्रष्टाचारलाई शून्यमा झार्ने भनेर दाबी गरे पनि व्यवहारमा त्यो नदेखिएको उनको टिप्पणी छ। उनले भने,‘वाईडबडी जहाजमा ५ अर्बको भ्रष्टाचार भएको छ । तर, सरकारले अहिलेसम्म जाँचबुझ आयोग बनाएर अलमलाउने काम गरेको छ । यसबाटपनि देखिन्छ कि सरकारले भ्रष्टाचारमा कति शुन्य सहनशिलता अपनाएको छ भनेर ?’

त्यस्तै, उनले नेपालमा अर्को मुख्य समस्या भनेको औकातभन्दा बढि खर्च गर्ने काम भएको पनि गुनासो पोखे । सरकारले सांसदलाई दिने पैसा खारेज गनुपर्नेमा पैसा दिएकोमा उनले आक्रोश पोखे ।

उनले भने,‘सरकारले सांसदलाई ६ करोड दिनु भनेको यो निरिहता हो । यो सरकारलाई कोही मन्त्री रिसायो ? वा सांसद रिसायो भने केही हुनेवाला त थिएन, किनकी यो सरकार बलियो सरकार हो । स्थिर सरकार हो।’ सरकारले खर्चमा कडाई गर्नुपर्ने उनको भनाई छ । पुँजीगत खर्च ४० प्रतिशतभन्दा बढि हुन नसकेकोमा उनले दुःखेसो पोखे ।

लोहनीले भने,‘मुलुकमा यतिवेला आर्थिक अनुशासन छैन् । जनतामा उत्साह घटेर गएको छ । बरु, दिनदिनै जनतामा आक्रोश बढ्दै गएको छ । यदि यही गतिमा आक्रोश बढ्दै गयो भने मुलुकले थेग्न सक्दैन् ।’

यद्धपी लोहनीले बजेटमा केही राम्रा कुराहरुपनि समेटिएको स्पष्ट पारे । उनकाअनुसार देशभित्रका उद्योगलाई संरक्षण दिने नीति राम्रो हो।

प्रकाशित मिति: : 2019-06-01 16:33:30

प्रतिकृया दिनुहोस्