मोदीको मन्त्रिमण्डलको आकार पहिले भन्दा ठूलो, ५८ मा कूल १९ नयाँ अनुहार

तस्वीरः एजेन्सी

नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालका लागि सपथ लिएका छन्। विहिबार राजधानी नयाँ दिल्लीमा आयोजित सपथ ग्रहण कार्यक्रममा मोदीले राष्ट्रपति रामनाथ कोबिंदको अगाडि दोस्रो कार्यकालका लागि सपथ लिएका हुन्।

उनी भारतीय कंग्रेसबाहिर बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिने पहिलो व्यक्ति हुन्। यसअघि कंग्रेसबाट जवहारलाल नेहरु र इन्दिरा गान्धी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएका थिए।

प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको मन्त्रिमण्डल पहिलो भन्दा ठूलो आकारको भएको छ। २०१४ मा ४७ मन्त्री थिए। यसपालि २४ क्याबिनेटसहित राज्यमन्त्रीको रुपमा ५८ जनाले सपथ लिए। जसमा १९ नयाँ अनुहारलाई समावेश गरिएको थियो। क्याबिनेट मन्त्रीको रुपमा ६ नयाँ अनुहारलाई समावेश गरिएको छ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र पूर्व कुटनीतिज्ञ एस जयशंकरलाई क्याबिनेटमा स्थान दिइएको छ।

पार्टीलाई पूर्ण बहुमत ल्याउन महत्वपूर्ण योगदान गरेका अध्यक्ष शाहले तेस्रो नम्बरमा सपथ लिएका थिए। उनले अघिल्लो कार्यकालमा गृहमन्त्री रहेका राजनाथ सिंहपछि सपथ लिएका थिए।

प्रधानमन्त्री मोदी गुजरातको मुख्यमन्त्री हुँदा शाह गृहमन्त्री थिए। उनी मोदी मन्त्रिमण्डलमा गृहमन्त्री हुने सम्भावना बलियो छ।

सुषमाको स्थानमा पूर्व कुटनीतिज्ञ एस जयशंकरलाई विदेश मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावना बलियो छ।

प्रकाशित मिति: : 2019-05-30 21:36:07

प्रतिकृया दिनुहोस्