समकालीन चुनौति र अवरोधहरूको पहिचान गरेर शान्ति सुरक्षा कायम गर्ने उद्देश्य छ: महानिरीक्षक खनाल

बिएल

नेपाल प्रहरी र इन्टरनेसनल कमिसन अफ द रेडक्रस (आइसिआरसी) को संयुक्त आयोजनामा ‘एसियन पुलिस कोल्कुएम २०१९’ विषयक पहिलो प्रहरी सम्मेलन मंगलबारबाट सुरु भएको छ ।

काठमाडौंस्थित मेरियोट होटलमा संचालन हुने ३ दिवसीय सम्मेलनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्‍घाटन गरेका छन् ।उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले सम्मेलन मार्फत समकालीन चुनौति र अवरोधहरूको पहिचान गरेर शान्ति सुरक्षा कायम गर्ने उद्देश्य रहेको बताए ।

सम्मेलनमार्फत दण्डहीनता, सुरक्षा चुनौति र आतंकवादको विरूद्ध लड्न सुरक्षासंगठनहरु माझ मजबूत सहयोग र समन्वयको आदान प्रदान हुने विश्चास प्रहरी महानिरीक्षक खनालले  व्यक्त गरे । उनले यस सम्मेलनले सुरक्षा निकायहरूबीच सहयोग र समन्वयका साथ त्यस्ता गतिविधि रोक्ने र न्यूनीकरण गर्ने अभियानमा कदम चाल्ने विश्‍वास  बताए ।

राम्रो विचार र रणनीतिक योजनाका लागि एउटा मञ्च प्रदान गर्दै अपराधीहरुलाई कानुनको दायरामा ल्याउने र सम्भावित अपराधहरुलाई रोक्ने सबैको लक्ष्य रहेकोले प्रहरी महानिरीक्षक खनाल बताए । उनले  प्रविधिमा भएको विशाल प्रगतिसँगै केही व्यक्ति, समूह र संगठनहरूको खराब मनसायले विभिन्न चुनौति र अवरोधहरू देखिएको बताए ।

उनले त्यस्ता क्रियाकलाप रोक्न सबै राष्ट्रहरु एकजुट भई दृढ प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्ने औंल्याए ।प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षामा देखिएका चुनौतिहरु निर्मूल गर्न स्थानीय र अन्तर्राष्ट्रिय तहमा सदैव हातेमालो गर्दै अगाडि बढ्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गरे । स्थानीय तहसँगै सहकार्य गर्नको लागि नेपाल प्रहरीले गत वर्ष देखि समुदायप्र–प्रहरी साझेदारीको अवधारणा अनुरुप विभिन्न गतिविधिहरु समेत संचालन गरेको उनले बताए ।

 सम्मेलनमा नेपाल समेत गरी १५ एसियन राष्ट्रहरुका २५ जना वरिष्ठ प्रहरी अधिकारीहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: : 2019-09-24 16:39:30

प्रतिकृया दिनुहोस्