भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (विहिबार) दोस्रो कार्यकालका लागि सपथ ग्रहण लिँदैछन्। उनको सपथ ग्रहण कार्यक्रममा दिल्ली पुलिसको १० हजार सुरक्षाकर्मी खटिदैछन्। विश्वका प्रायः सबै देशबाट आउने पाहुँनाको सुरक्षाका लागि पाँच स्तरको सुरक्षा घेरा रहने भारतीय अखबारहरूले जनाएको छ।
सपथ ग्रहण कार्यक्रम क्षेत्रमा अत्याधुनिक हतियारसहित स्पेशल प्रोटेक्सन फोर्स (एसपिजी), राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी), अर्धसैनिक बल र दिल्ली पुलिसका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहनेछ।
सपथ ग्रहणको समय राजधानी नयाँ दिल्लीलाई ‘नो फ्लाइङ जोन’ घोषित गरिएको छ। प्रधानमन्त्री मोदीले साँझ ७ बजे राष्ट्रपति भवनमा दोस्रो कार्यकालका लागि सपथ लिँदैछन्। सपथ कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित बिमिस्टेकको सबै सदस्य राष्ट्रका प्रमुखलाई निम्तो दिइएको छ।
आजको सपथ ग्रहण कार्यक्रममा स्वदेशी र विदेशी गरि ६ हजार ५ सयको हाराहारीमा भिआइपी र भिभिआइपी गेष्ट हुन सक्ने बताइएको छ।