गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उनले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
“कुनै पनि राष्ट्रको विकास युवाका कारण भएकाले युवा परिचालनलाई राज्यले व्यापकता दिनुपर्छ”, उनले भने । गृहमन्त्री थापाले संसार बदल्ने युवा जनशक्ति भएकाले युवालाई समावेश गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गरे ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यो अभियानले सहयोग पुग्ने उनको भनाइ थियो । उनले सडक दुर्घटनाका कारण वर्षेनी दुई हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरको भन्दै यस्ता अभियानलाई १५ दिनमात्र नभएर वर्षभरि चलाउनसके दुर्घटनामा समेत कमी आउने बताए ।