भूकम्पबाट क्षतिग्रस्त निजी आवास (घर) पुनर्निर्माणमा सन्तोषजनक प्रगति देखिए पनि प्रबलीकरण (रेट्रोफिटिङ)तर्फ सुस्त देखिएको छ। प्रबलीकरणबारे स्पष्ट बुझाइ नहुँदा यसप्रति लाभग्राहीको आकर्षण कम देखिएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित ३२ जिल्लाका ७० हजारलाई प्रबलीकरण लाभग्राहीको सूचीमा राखेको छ। २०७२ को भूकम्पबाट आंशिक क्षति पुगेका ती घर प्रबलीकरण गरेर भूकम्पप्रतिरोधी बनाउन सकिने प्राधिकरणको भनाइ छ। तर, भूकम्पपीडितले प्रबलीकरणमा खासै चासो दिएको पाइँदैन।
प्राधिकरणको तथ्याङ्कअनुसार प्रबलीकरण लाभग्राही सूचीमा सूचीकृत ७० हजार ७२ लाभग्राही (घरधनी) मध्ये हालसम्म २८ जनाले मात्र दोस्रो किस्ता लिएका छन्। अनुदान सम्झौता गरेका करिब ९८ प्रतिशतले पहिलो किस्तावापतको ५० हजार रुपैयाँ लिए पनि दोस्रो किस्ता लिने न्यून पाइएको हो। प्रबलीकरणको काम सम्पन्न गरेपछि मात्र दोस्रो किस्ता पाउने व्यवस्था छ। प्राधिकरणको तथ्यांक अनुसार पहिलो किस्ता लिएका अधिकांशले प्रबलीकरण गरेका छैनन्।