‘यस्तो पनि कुनै बाटो हुन्छ ?’ रारा यात्रामा सहभागी एक साथी कालिकोटको मान्म कटेपछि कुर्लियो । देशका थुप्रै स्थान पुगिसकेको ऊ खतरनाक सडकबाट यात्रा गर्न र त्यसको वर्णन गर्न सधैं कस्सिन्थ्यो । यात्राबाट ऊ सधैं आनन्द लिन्थ्यो । तर कर्णाली राजमार्गबाट रारा जाँदा उसको मानसपटलमा थुप्रै प्रश्नहरु उब्जिन पुगेका थिए । यात्राबाट आनन्द कम, सकस बढी भएको उसको निष्कर्ष थियो । काठमाडौंदेखिको सात दिने (सुविधाजनक टोयोटा फच्र्युनर फोर ह्विलर्स जिप भएका कारण कम समय लागेको) रारा यात्रामा उसले प्रश्नबाहेक केही गरेन । यस्तो लाग्थ्यो, कर्णालीले उसलाई प्रश्नको भकारी बोकाइदिएको छ । मनको भित्री कुनाबाट डर मिश्रित आवाजमा निस्किएको प्रश्नको सकारात्मक उत्तर कसैसँग थिएन । प्रश्न स्वाभाविक थियो ।
कर्णाली राजमार्गबाट यात्रा गर्न कस्सिएका हामी सबै (६ जना) लाई आफ्नो यात्रा ‘दुस्साहसपूर्ण’ लाग्दै थियो । सुर्खेतबाट केही परदेखि ताल्चा विमानस्थलसम्म पुग्दा हामीले एक मिनेट पनि गाडीमा आनन्दले बस्न र यात्राको रमाइलो लिन सकेका थिएनौं, हामी डर भगाउन अनेक प्रयत्न गरिरहेका थियौं । हामी ‘पृथ्वीको स्वर्ग’ मानिएको राता ताल जाँदै थियौं कि कसैले नदेखेको ‘धार्मिक स्वर्ग’को यात्रामा थियौं, यसै भन्न गाह्रो थियो ।