भाइचुङले खेले ८२ खेल : चुनावमा पाए ७० मत

विचरा भाइचुङ : फाप्यो फुटबल, फापेन राजनीति । तस्विर: फाइलबाट।

सिक्किमको छोरा उपमा पाएका भारतीय फुटबलका सर्वकालीन चर्चित खेलाडी तथा पूर्व कप्तान भाइचुङ भुटियालाई राजधानी गान्तोकका ७० मतदाताले मात्रै पत्याए।झट्ट सुन्दा अपत्यारिलो लागे पनि यो सत्य हो कि हाम्रो सिक्किम पार्टीका नेता भुटियाले पाएको मत संख्या यति नै हो। 

गान्तोकबाट सिक्किम क्रान्तिकारी मोर्चाका कुङ्गा निमा लेप्चा तीन हजार सात सय ५३ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी सिक्किम डेमोक्याटिक फ्रन्टका पिन्सो चोपेलले दुईहजार आठ सय ७६ मत पाए। ७० मत पाएका भुटिया भने चौथो भए। 

गान्तोकमा पाएको ७० मतलाई लिएर सामाजिक सञ्जालमा उनीमाथि अनेक टिप्पणी पनि गरियो। एउटा प्रतिक्रिया यस्तो थियो- 'विचरा भाइचुङ, भारतको राष्ट्रिय टोलीबाट ८२ अन्तर्राष्ट्रिय खेल खेले तर भोट भने ७० मात्र पाएछन्।' उनका अर्का एक प्रशंसकले लेखे- क्याप्टेन राजनीति तिम्रो वशको कुरा हैन, छोडीदेऊ। यो समय र स्रोतको बर्बादी मात्र हो।

भुटियालाई गान्तोकले मात्र हैन, उनी उम्मेद्वार भएको अर्को निर्वाचन क्षेत्र  टुमेन लिन्गीले पत्याएन। उनले त्यहाँ दुईसय ३४ मत पाए।

जनवरीमा  हाम्रो सिक्किम पार्टी खोलेका भुटियाले चुनावमा कुनै व्यक्ति विरुद्ध नभै कालो र सेतो धनबीचको प्रतिस्पर्धा भएको बताएका थिए। 

भुटियालाई फुटबल फापे पनि राजनीति भने पटक्कै फाफ्ने देखिएको छैन। यसअघि त्रिणमुल कांग्रेसका टिकटबाट सन् २०१४ को लोकसभा र सन् २०१६ का विधानसभा चुनावमा प्रतिस्पर्धा गरेका भुटिया नराम्ररी पराजित भएका थिए। 

 

 

 

प्रकाशित मिति: : 2019-05-25 04:18:42

प्रतिकृया दिनुहोस्