गोलबजार ६, ढोटिया। २०६३ सालतिरको कुरा हो। शिवकुमारी र शान्ति सदा घरबाट बिहानै निस्कन्थे, स्कूल ड्रेसमा। शान्ति भाउजु र शिवकुमारी नन्द। यी दुवै एउटै स्कूलका विद्यार्थी। बिहान सँगै उठ्नु, घरको काम सक्नु र सँगै स्कूल जानु उनीहरुको दैनिकी।
स्कूल जाँदा शान्तिको टाउको सधैं रुमालले ढाकिएको हुन्थ्यो, सिन्दुर छोप्न। यसो गर्नुलाई सौभाग्यको रक्षा ठानिन्थ्यो। जेठाजु र ससुराहरुले सिन्दुर र मुहार देखे पाप लाग्ने विश्वास।
घरबाट १० मिनेट हिँडेपछि ठूलो चौरमा पुग्थे दुवै। चौरमा पुगेपछि शिवकुमारीले भन्थिन् - 'ल रुमाल झिक्नुस्, कोही छैन।'