चितवन अचेल रमिताको सहर बनेको छ। केही समयअघि त्यहाँ रवि लामिछानेको रमिता थियो। अहिले अर्कै रमिता छ। चितवन मेडिकल कलेज १५ दिनदेखि बन्द छ। आमाबुबाको लाखौं रुपैयाँ खर्च गरेर डाक्टर र नर्स पढ्न कलेजमा आएका विद्यार्थी दुई सातादेखि आन्दोलनमा छन्।
प्रहरीले उनीहरूमाथि कहिले गाली बर्साएको छ, कहिले लाठी। कहिले उनीहरूलाई आफ्नै अस्पताल छिर्न रोकेको छ, त कहिले पक्रेर थुनामा राखेको छ। विद्यार्थीहरूको माग सरल छ- डाक्टर र नर्स पढ्न मन्त्रिपरिषदले तोकेको शुल्क मेडिकल कलेजहरूले लागू गरून्। मेडिकल कलेजहरूले यसअघि लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको लिखित निर्देशन पालन गरून्।