आफूलाई आफैंभित्र बन्द गरेर, अन्धकारलाई जित्न सकिन्नँ सायद। तर, जीवनका चार वर्ष उनी आफैंभित्रको कैदी भइन्। उनका किशोर पाइला विस्तारै ‘नसालु’ बाटो पछ्याउँदै थिए। आफू के गर्दैछु र, कता जाँदैछु भन्ने उनलाई राम्रोसँग थाहा थियो। तर, जिन्दगीका कैयौं प्रयासले पनि पाइला रोकिँदैनन्, त्यसका लागि आफैंलाई रोक्नुपर्छ। २२ वर्षीया सिमरन राजभन्डारी। कसले पत्याउने, ऊ नसेडी थिई अनि फेरि आफू सुध्रिएर अहिले अरुलाई सुधार्न लाग्दैछे।
हिजो आफैंलाई सम्झाउन नसकेर ‘नसा’को अँध्यारोमा धकेलिएकी उनी आज आमा समानकालाई सम्झाइबुझाइ गर्दैछिन्। जब एउटा रहर आदत बन्छ, अनि मान्छेलाई अनेक बहाना हुन्छन्, तर त्यो आदतबाट निस्किने बहाना भेटिँदैन हत्तपत्त। र, कहिलेकाहीँ मन यस्तो ठाउँमा ठेस लाग्न पुग्छ अनि त्यो घाउ बन्दैन, बरु जिन्दगीको औषधि बनिदिन्छ।