राष्ट्रिय सभाको बैठक सुरु,सूचना मन्त्रीले विज्ञापन नियमन गर्ने विधेयक प्रस्तुत गर्दै

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा,फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।

सोमबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “आर्थिककार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले “प्रशासकीय अदालत विधेयक, २०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले “विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्”भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराइले बताए ।

 

प्रकाशित मिति: : 2019-09-16 11:06:42

प्रतिकृया दिनुहोस्