राजविराज : साहुको घरबाट भाँडाबर्तन माझेर साँझ नपर्दै आइ पुग्नुपर्ने १३ वर्षीया छोरी रात पर्दा समेत नआएपछि सीता नराम्ररी अत्तालिइन्।
सीता विरामी परेकीले भाँडाबर्तन माझ्न र घर लिपपोत गर्न भदौ १२ गते जेठी छोरीलाई पठाएकी थिइन्। साहुजी कहाँ फोन गर्दा दुई घण्टा अघि नै छोरी निस्किएको थाहा पाएपछि मन झनै छटपटाउन थाल्यो। दश वर्षीया माइली छोरीलाई डेरामा एक्लै छाडी अढाई वर्षीया कान्छी छोरीलाई काखमा च्यापी उनी हराएकी छोरी खोज्न बजार निक्लिन। कतै फेला नपरेपछि रातको दश बजे हराएकी छोरीबारे हुलिया जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगिन्।