वाणिज्य बैंकको संख्या १५ मा झार्न विश्व बैंकको सुझाव, अन्ततः १० मा झार्न सकिने प्रक्षेपण

विश्व बैंकद्वारा तयार गरिएको ‘नेपाल पूर्वाधार क्षेत्र मूल्यांकन प्रतिवेदन’ सार्वजनिक गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव । तस्वीर : आर्थिक अभियान

काठमाडौं । नेपालको पूर्वाधार निर्माणमा नेपाली वाणिज्य बैंकहरूको लगानीे क्षमता कमजोर रहेको बताउँदै विश्व बैंकले त्यस्ता बैंकको संख्या हालको २८ बाट १५ मा झारी पूँजी बढाउन सुझाव दिएको छ । तेस्रो नेपाल पूर्वाधार सम्मेलन अन्तर्गत बिहीवार विश्व बैंकद्वारा सार्वजनिक गरिएको ‘नेपाल पूर्वाधार क्षेत्र मूल्यांकन प्रतिवेदन’ ले वाणिज्य बैंकको संख्या घटाएर तिनको चुक्ता पूँजी दोब्बर बनाउँदा वित्तीय क्षेत्रको पूर्वाधार क्षेत्रमा ऋण प्रवाह गर्ने क्षमता बढ्ने बताएको छ । 

प्रतिवेदनले शुरूमा वाणिज्य बैंकको संख्या १५ मा झार्न सुझाव दिँदै थप सुदृढीकरण गर्न अन्तरराष्ट्रिय बैंकहरूसँग सहकार्य गरी बैंकको संख्या १० मा झार्न सकिने बताएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पूँजी १६ अर्ब रुपैयाँ पुर्‍याए संख्या घट्न सक्ने प्रतिवेदनको ठम्याइ छ । नेपाल राष्ट्र बैंकले ‘बिग मर्जर’ को नीति कार्यान्वयनमा जोड दिएकै समयमा विश्व बैंकको यस्तो सुझाव आएको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकहरूको संख्या कम गराउने नीति लिए पनि कतिमा झार्ने भनेर आधिकारिक रूपमा बताएको छैन । यद्यपि राष्ट्र बैंकका अधिकारीहरूले अनौपचारिक रूपमा हाल भएका वाणिज्य बैंकलाई आधा घटाउने बताउँदै आएका छन् । 

 

प्रकाशित मिति: : 2019-09-13 07:25:32

प्रतिकृया दिनुहोस्