भन्छन् – मसानमा एकैछिनका लागि भए पनि मानिसमा वैराग्य उत्पन्न हुन्छ । वैराग्यले मानिसलाई अकर्मण्य बनाउँछ । ‘समृद्ध नेपाल : सुखी नेपाली’को महाभियानमा जुटेको सरकारका लागि नागरिकहरू वैरागी हुने अवस्था मन्जुर हुने कुरै भएन । यसैले मन्त्रीलाई मसानमा राष्ट्रिय गान सुनाएर नागरिकमा राष्ट्रिय भावना जनाउने विलक्षण बुद्धि फुरेको हुनुपर्छ । तर, सरकार बहादुरको राष्ट्रिय भावना र कल्पनाशीलता प्रजाहरूले बुझे पो ! पशुपति परिसरमा आरती गर्नुभन्दा पहिले राष्ट्रिय गान हुनुपर्ने सरकारी ऊर्दी केही दिन पालन गरेपछि गंगा आरती सेवा सञ्चालक समितिले अवज्ञा गरेछ । समितिले सरकारी आदेश अटेर गरेपछि खैलाबैला मच्चिएको छ । पशुपति परिसरलाई ‘बाबुको बिर्ता’ ठान्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले मसानमा राष्ट्रिय गान नबजाए आरती गर्नै नदिने धम्की दिएका छन् । कोषका पदाधिकारीले पनि पाएको ताबेदारीको मौका किन पो छाड्थे !
जनसाधारणदेखि संकृतिविद्हरूसम्मले भने मसानमा राष्ट्रीय गान अनिवार्य गर्नुलाई अशोभनीय संवेदनहीनता ठानेका छन् । आरती हेर्न जानेहरूमा पनि कुबेलाको राष्ट्रिय गानले राष्ट्रभक्ति हैन राष्ट्रियताका नाममा देखाउन खोजिएको ‘मण्डले प्रवृत्ति’ प्रति वितृष्णामात्र जगाएको हुनुपर्छ । पंचायत कालमा त सिनेमा देखाउँदामात्र राष्ट्रिय गान बजाइन्थ्यो । अहिलेकाले त मसानलाई पनि छाडेनन् । सिनेमा हलमा फिल्म देखाउनुभन्दा पहिले राष्ट्रिय गान बजाउनै पर्ने यस्तै असंगत निर्णय केही दिन पहिले सार्वजनिक गरिएको थियो । मसानमा वा मनोरञ्जनस्थलमा सुनाइने राष्ट्रिय गानले श्रोतामा सकारात्मक प्रभाव पार्दैन । बरु, वितृष्णा उत्पन्न हुन्छ । अर्थात्, मसान र मनोरञ्जन स्थलमा राष्ट्रिय गान सुनाउने सरकारी निर्णयले राष्ट्रिय गानकै अपमान हुन्छ । सुन्न मनै नलाग्ने बेलामा बलजफ्ती राष्ट्रिय गान सुनाउन थालियो भने बिस्तारै त्यसको अवज्ञा हुन्छ । दण्डको डर देखाएर सम्मान खोज्ने नै त हो मण्डले प्रवृत्ति । मसानमा राष्ट्रिय गान सुनाउने निर्णयको बचाउ गर्दै अर्का एक मन्त्रीले राष्ट्रिय गान सुनेर नउठ्ने नेपाली नै हैन भनेछन् । मलामी त सजायको डरले उठ्लान् पनि । चितामा सुताइएको मुर्दा त पक्कै उठ्दैन । राष्ट्रिय गान बजाउँदा नउठेको कसुरमा मुर्दालाई पनि सजाय गर्ने?