इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाद्वारा १८ वर्षपछि एसेज ट्रफी रक्षा

तस्बिरः एजेन्सी

एसेज सिरिजको चौथो टेस्टमा इंगल्याण्डलाई १ सय ८५ रनले हराउँदै १८ वर्षपछि अष्ट्रेलियाले एसेज सिरिज जितेको छ।

यो जितसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ । यससँगै अष्ट्रेलियाले एसेज ट्रफी रक्षा गरेको छ । अस्ट्रेलियाले सन् २००१ यता एसेज उपाधि रक्षा गर्न सकेको हो ।

घरेलु टोली इंग्ल्यान्ड अन्तिम दिन ९१.३ ओभरमा १ सय ९७ रनमा अल आउट भएपछि फराकिलो हार बेहोरेको हो। इंग्ल्यान्डका लागि ओपनर जो डेनली ५३, जेसन रोय ३१, जोनी बेयरस्टो २५ र जस बटलर ३४ रनमा आउट भए।

अष्ट्रेलियाको जितमा प्याट कमिन्सले ४, जोसन हेजलवुड र नाथन लायनले समान २-२ विकेट लिए। मिचेल स्टार्कको नाममा १ विकेट रह्यो ।

यसअघि स्टिम स्मिथले दोहोरो सतक बनाएपछि अष्ट्रेलिया फराकिलो योगफल बनाउन सफल भएको थियो।  ३ सय १९ बलमा २४ चौका र २ छक्कासहित स्मिथले २ सय ११ रन जोडे सँगै अष्ट्रेलियाले पहिलो इनिङमा ४९७-८ को समाप्तीमा इनिङ समाप्तीको घोषणा गरेको थियो।

पहिलो इनिङमा इंग्ल्यान्ड ३ सय १ रनमा अल आउट भएपछि १ सय ९६ रनले पछि परेको थियो ।

पहिलो इनिङमा इंग्ल्यान्डका कप्तान जो रुट ७१ र रोय ब्रुन्सले ८१ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन्।

अष्ट्रेलियाका जोश हेजलवुड ४,मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए।

स्मिथले ८२ रनको योगदान दिएपछि १८६–६ को अवस्थामा अष्ट्रेलियाले दोस्रो इनिङको समाप्ती गर्दै इंग्ल्यान्डलाई ३ सय ८३ रनको लक्ष्य दिएको थियो ।

पहिलो खेलमा अष्ट्रेलियाया विजयी हुँदा दोस्रो खेल ड्र भएको थियो। त्यस्तै तेस्रो खेलमा इंग्ल्यान्डले जितेको थियो । अन्तिम तथा पाँचौ टेष्ट १२ सेप्टेम्बर देखि सुरू हुनेछ।

जुलाईमा एकदिवसीय विश्वकप जितेको इंग्ल्यान्डले यसै वर्ष अर्को ठूलो सफलता हासिल गर्नबाट चुक्यो ।

इंग्ल्यान्डलाई पाँचौं टेष्ट जित्नैपर्ने स्थिति छ। किनभने यदि उनीहरु पराजित भए भने घरेलु मैदानमा टेष्ट शृंखला गुमेको सन् २०१४ पछिकै पहिलो हुनेछ।

 

प्रकाशित मिति: : 2019-09-09 08:22:15

प्रतिकृया दिनुहोस्