मंगली जलारी पोखराको नयाँबजारमा जन्मिएकी हुन्। उनलाई आफ्नो जन्ममिति ठ्याक्कै थाहा छैन। तर उति बेला जन्मिने हजुरआमाहरूले जस्तै भन्छिन्, 'मलाई ९० सालको भुइँचालो अलि अलि याद छ।'
यो हिसाबमा उनी ९० वर्ष हाराहारी पक्कै भइन्।
उनका बुबाको नाम कालु, आमाको सामू।
'पहिले-पहिले हाम्रो थर पोडे राख्थ्यो। अचेल जलारी भन्न थालेका छन्,' उनले भनिन्।
हाम्रो कुराकानी सुनिरहेका मंगलीका कान्छा छोरा ज्ञानबहादुर जलारीले प्रस्ट्याए, 'पोडे हाम्रो पुरानो थर हो। पहिले पनि जलारी त भन्थे, तर हाम्रा पूर्वजहरूले जलारी भन्न नजानेर पोडे नै भन्थे। अहिले बच्चाहरूले पोडे भन्दा उनीहरूलाई स्कुलमा हेप्ने, छुवाछुतको कुरा उठाउने भएकाले हिनताबोध भयो। कतै साथीभाइसँग जाँदा पनि कोही कोहीले छोएको नखाइदिने भए।'
छुवाछुत गर्न कानुनले रोक लगाएको उहिल्यै हो। अझै पनि समाजमा यो कुचलन जिउँदै रहेको ज्ञानबहादुर बताउँछन्। शिक्षित व्यक्तिहरू भएको ठाउँमा धेरै नभए पनि गाउँघरमा व्याप्त रहेको उनले बताए।
'परापूर्वकालदेखि नै पोडे भनेको माछा मार्ने समुदाय हो। माछा मारेर मात्र जीविका नचल्ने हुनाले सरसफाइको काम पनि गर्छन्,' उनले भने।
सेतै फुलेको कपाल, मसिनो शरीर, हँसिली मंगलीलाई आफ्नो बिहे कहिले भयो, याद छैन। १८/१९ वर्षकी हुँदा भएको भन्छिन्।
त्यो बेलाको चलनअनुसार मागी विवाह भएको थियो। श्रीमान उनीभन्दा ६-७ महिना जेठा। मंगलीका दुई छोरा र एक छोरी छन्। छोरी नौ महिनाकी हुँदा श्रीमान बिते। युवाअवस्थामै श्रीमान बितेपछिका दिन कठिन थिए। अहिले पनि उनी ती दिन कसैले नकोट्याइदिए हुन्थ्यो भन्ने ठान्छिन्।
'यो छोरा (कान्छा)ले बाउ चिन्दैन थियो, छोरी सानी। बुढा बितिहाले। दुःखको कुरा सम्झिन हुन्न बा मलाई, आँशु आउँछ।'
बिहे हुनेबित्तिकै उनकी आमाको मृत्यु भएको थियो। बुबा बितिसकेका थिए। श्रीमान पनि नभएपछि साह्रै पीडा भयो। कलिलो उमेरमै आफ्ना नजिकका मान्छे गुमाएकी मंगली विछिप्त भइन्। तीन सन्तानको जिम्मेवारी एक्लो काँधमा आयो।
अर्को बिहे गर्न मन लागेन?
'बाउआमाले दिएको मान्छे नभएपछि अन्त जान इच्छा लागेन। एउटाले मलाई फकाएको थियो। मैले 'हिरा जस्ता दुइटा छोरा र छोरी छन्। यस्तो कुरा गर्नुहुन्छ, पछि छोराहरूले हेला गर्छ। हेला त सहुँला यी छोरा छोडेर जानुपर्यो भने म सिधै मर्न जाम्ला नि' भन्दिएँ,' छोराहरूको मायामै उनले खुसी देखिन्।
जीवनको नौ दशक पार गरेकी मंगली छोरा ज्ञानबहादुरसँगै पोखरा, लेकसाइडको खहरेमा बस्छिन्। वरिपरि नातेदारहरूका घर छन्। ज्ञानबहादुरका अनुसार तालको सेरोफेरोमा ९१ घरपरिवार जलारीहरू छन्। थपौने, तामे र तालको छेउछाउ बस्ने जलारी परिवारको संख्या ४/५ सय हाराहारी छ।
उनीहरूको यो घरजग्गा जोडेको पनि माछा बेचेरै हो। यहाँबाहेक अन्त पनि जग्गा भएको मंगली बताउँछिन्। नयाँबजारको अलिकति जग्गा भने श्रीमानको मृत्युपछि बेचे। १२ हजार प्रतिरोपनीले दुई/तीन रोपनी बेचेको रहेछ। उहिल्यै सस्तोमा दिनुपरेको जग्गाको भाउ बढेको सम्झिएर उनको मन कटक्क हुन्छ।
'माछा बचेर नि धेरै आम्दानी हुँदो रहेछ नि' भनेर सोध्दा उनी भन्छिन्, 'उ बेलामा सस्तो थियो। अहिले त कहाँ किन्न सकिन्छ र? बाहुनहरूले 'कान्छी, यो जग्गा राख, कोदो-मकै खानहुन्छ छोराछोरीले' भनेर दिन्थे पनि।'