युरो कप छनोट अन्तर्गत पोर्चुगलले सर्वियालाई सहजै हराएको छ।
युरोपियन तथा नेशनल लिग च्याम्पियन पोर्चुगलले आगामी वर्ष हुने युरो २०२० को छनोट प्रतियोगितामा पहिलो जित हासिल निकालेको हो। यस क्रममा गएराति बेलग्रेडमा भएको खेलमा सर्बियालाई ४–२ ले हराएको हो।
पोर्चुगललाई जिताउन क्रिस्टियानो रोनाल्डो, विलियम कार्भाल्हो, जोन्कालो गुइड्स र बर्नार्डो सिल्भाले गोल गरे।
खेलको ४२ औं मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा १–० को अग्रता दिलाएको थिए। ५८औं मिनेटमा गोन्कालो गुइडेजले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए। उनले ब्रुनो फनान्डेजको पासमा गोल गरेका थिए ।
६८औं मिनेटमा निकोला मिलेन्कोभिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए। तर, ८०औं मिनेटमा रोनाल्डोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै पोर्चुगललाई ३–१ ले अघि बढाए।
तर, ८५औं मिनेटमा एलेक्जेन्डर मित्रोभिचले सर्बियाका लागि अर्को गोल फर्काएर पुनरागमनको आशा जीवित राखे। मित्रोभिचको गोलको एक मिनेट नबित्दै बर्नार्डो सिल्भाले पोर्चुगलका लागि चौथो गोल गरेर जित पक्का गरे।
छनोट प्रतियोगिताका तीन खेलमा पहिलो जित हासिल गरेको पोर्चुगल समूह ‘बी’ मा ५ अंक सहित दोस्रो स्थानमा छ। गए राति नै लिथुवानियालाई ३–० ले हराएको युक्रेन ५ खेलमा १३ अंक बटुल्दै शीर्ष स्थानमा छ।
४ खेल खेलेका लक्जेम्बर्ग र सर्बिया समान ४ अंकका साथ तेस्रो तथा चौथो स्थानमा रहँदा १ अंकमा सिमित लिथुवानिया पुछारमा छ।