हरेक मानिस आफ्नो उमेर, देश, काल र परिस्थितिसँगै संसारको विकासक्रमसँग पनि हुर्किरहेको हुन्छ। हामीलाई हुर्कंदै गर्दा यसको हेक्का हुँदैन। कालान्तरमा जब फर्केर हेर्छौं, हामीलाई आफूले बिताएको समयक्रम महशुस हुन्छ। यात्रामा जस्तै, जहाँ कस्ता घुम्ती र भीर काटेर आयौं भन्ने फर्केर हेरेपछि मात्र थाहा हुन्छ।
हामी विक्रम सम्बत् बीसको दशकमा जन्मेकाहरू वैज्ञानिक प्रयोगका साक्षी बन्यौं। यसको रफ्तारसँगै दौडियौं। हामीले तय गरेका अनेक समानान्तर यात्रामध्ये आज म सञ्चार क्षेत्र, खासगरी रेडियो, टिभी र त्यससँग प्रत्यक्ष सम्बन्ध राख्ने हाम्रो जमानाका केही सांगीतिक कोसेलीहरू सम्झने प्रयास गर्दैछु।
हामी सानो हुँदा रेडियोको युग थियो। रेडियो नेपालको एकछत्र राज। पत्रिकामा गोरखापत्र। हामी टिनएज लागेसँगै काठमाडौँमा टेलिभिजनको आगमन भयो। जवानीसँगै रेडियोमा झंकार थपियो। नेपालको रेडियो एफएम युगमा प्रवेश गर्यो। त्यसपछि सुरू भयो, इन्टरनेटको युग। डायलअप मोडियम र किलोबाइटको हिसाबमा चल्ने मन्द गतिको इन्टरनेट।
यी माथि उल्लिखित हरफहरू दस–बीस वर्षमै दन्तेकथाझैं भए। सञ्चार क्षेत्र यति द्रुत गतिमा अघि बढ्यो, सायदै कसैले यसको अन्दाज गरेका थिए। तपाईंहरू यो लेख अहिले जेमा जसरी पढ्दै हुनुहुन्छ, सञ्चारको प्रगतिको एउटा उदाहरण यही हो।
देशभर एकछत्र राज गरेको रेडियो नेपाल अहिले सयौं एफएमहरूको छायामा ओझेल परेको छ। रेडियोमा मात्र बज्ने गीतहरू प्रविधिसँगै घर-घरमा बजाउन सम्भव हुन थाल्यो। गीत सुन्ने क्यासेट चक्का र बजाउने क्यासेट प्लेयर हाम्रै अगाडि आयो, गयो। त्योभन्दा पहिले एलपी रेकर्ड डिस्क हुन्थे, ग्रामोफोन प्लेयरमा घुमाएर बजाउँथे। हाम्रो पाला आउँदासम्म त्यो प्रचलनबाट बाहिरिसकेको थियो। म्याग्नेटिक टेपमा स्पुलको चलन थियो, त्यो पनि हाम्रो पालासम्म घरायसी प्रयोगमा खासै नदेखिने भैसकेको थियो। स्पुल भने पछिसम्म व्यावसायिक काममा रेडियो र स्टुडियोहरूमा देखिन्थे। अचेल त्यो पनि देखिन्न।
रेडियो नेपालमा रेकर्ड हुने गीतहरू त्यहीँ मात्र बज्थे। त्यहाँ बजेपछि गीतको भाग्य निर्धारण हुन्थ्यो। हुन त सरकारी निकायअन्तर्गतकै रत्न रेकर्डिङ पनि थियो, तर त्यसको उपभोग मैले गर्न पाइनँ।
त्यस बेलाका प्राय: गीत रेडियो नेपालकै स्टुडियोमा रेकर्ड हुन्थे। रेडियोमा पहुँच नभएका र रेडियोका हाकिमको रोजाइमा नपर्ने कलाकारहरू गाउने सोखबाट सदाका लागि वञ्चितझैं हुन्थे। आधुनिक र लोकगीतको एकछत्र चलेको त्यो समय पश्चिमा प्रभावका गीत सिर्जना नभएका होइनन्। हङकङको लाहुरे समाजमा सुरू भएको हिमालय ब्यान्डका गीतहरू गाजलुले आँखै छोप्ने, मुसुमुसु हाँसी देऊ न लै लै, कहाँ तिम्रो मायालुलाई ... खुबै चर्चित थिए।
नेपालमै प्रकाश गुरुङको संगीत र ओमविक्रम विष्टको स्वरमा सुनचाँदी भन्दा, जोबन त्यसै बितिजाला, म सम्झन्थेँ, मेरो रहर बिउँझिएर ... आदिले पनि आफ्नो समयमा तहल्का पिटे। त्यसैताका सुक्मित गुरुङले केही गीत ओमविक्रम विष्टसँग र पछि दिपक थापाको संगीतमा ओ मेरो प्रियतम गाएर आफ्नो पहिचान जमाएकी थिइन्।
असीको दशकमा काठमाडौंमा सांगीतिक ब्यान्ड खुल्ने चलनले तीव्रता लियो। प्राय: सबै अंग्रेजी गीत सुन्थे र बजाउँथे। त्योभन्दा पहिले दार्जिलिङ, कलकत्ताबाट यहाँ पाँचतारे होटलमा बजाउन आउने 'प्रिज्म' जस्ता ब्यान्ड नभएका होइनन्।
काठमाडौंकै केटाहरूले खोलेका केही ब्यान्डले पनि नेपाली संगीतमा दुरगामी प्रभाव पार्यो। तीमध्ये एलिगेंस, ब्लैंड फेथ, काठमान्डू क्याट्स, ब्रदरहुड, साउन्डमिल, क्रिसक्रस, र्याथचाइल्ड प्रमुख हुन्। यी ब्यान्डहरू अंग्रेजी गीत राम्रो बजाउँथे। तर, यिनका सदस्य नेपाली गीतलाई खिसिट्यूरी गर्थे। यिनीहरू प्राय: डिप पर्पल, डायर स्ट्रेट्स, लेड जाप्लिन, पिंक फ्ल्योइडका रक गीत गाउन रुचाउँथे। यी ब्यान्डमा भएका अधिकांश संगीतकर्मी संगीतबाट टाढा छन्। एलिगेंसका मुक्ति शाक्य, ब्लैंड फेथका ज्योति घिमिरे, साउन्डमिलका ध्रुव लामा लगायत केही भने अहिले पनि नेपाली संगीत क्षेत्रमा क्रियाशील छन्।