ओहो, एक मान्छे हिउँ परेछ !
कत्ति धेरै हिउँ ! कत्ति सुकिला हिउँका थुप्रा ! कत्ति उरुङखात हिउँका रासैरास ! कत्ति सुहाएको हिउँको छरछार !
गजबको हिउँचुली अग्लिएर बादलै हुने भएछ ।
३ असारको एकाबिहानै ।
लाग्ना लेकबाट फर्केपछि सम्साँझै सुतेको थिएँ म । औधी थाकेर होला– जता ढल्केको थिएँ, उतै बिउँझेछु । फेरि निकै जाडो लागेथ्यो सिमिकोटमा ।
बिहान चारै बजे उठेर बाहिर हेर्दा देखियो– कोन्चोलुम्बा हिमालमा एक मान्छे हिउँ ।
सिमिकोटका चारै कुनामा हिमालै हिमाल छन् । अझ पश्चिम–दक्षिणपट्टिको यांगर हिमाल आज हुनसम्म अग्लिएछ रातभरिको धुम्म, हावा र बादलको चेपचापले ।
हिसे लामाले तातो कफी खुवाए । उनकै पिँढीमा बास बसेथेँ म ।
सात बज्न लाग्दालाग्दै आइपुगे– कोन्ज्योक । मभन्दा उनी नै हतारिए बढ्ता ।
‘बुराउँसे पुगौँ ।’
भाइ उत्तम भट्टराईले मलाई सूचना गरेथे– ‘सिमिकोटमा कोन्ज्योक लामाले तपाईंलाई भेट्नेछन् । बहुपति प्रथाबारे केही न केही बुझेर फर्कनुहोला । तिनको सहयोग मिल्नेछ तपाईंलाई ।’
यति संकेत नै मेरा लागि ब्रह्माण्ड भएथ्यो ।
जिब्रो खुइल्याउँदै त्यसपछि हामी लाग्यौँ माथ्लो गाउँ । गाउँ राम्रोसँग बिउँझिइसकेको थिएन । धुम्मिएको थियो बादल ।
खच्चड र घोडा खेद्नेहरू घाँडा र बाखर कस्दै थिए । हल न चल भएका खच्चडका ढाडमा दिनभरि बोकिने भारी चढिँदै थियो । अब तिनको ढाडमा बोकिएर जान तयार
भइरहेथ्यो समय ।
‘एक घन्टामा पुगिन्छ बुराउँसे !’ कोन्ज्योकले माथ्लो गाउँ कटेर पूर्व–उत्तर बेगिएको ठूलो बाटोमा पुगेपछि भने ।
सिमिकोट डाँडा ताकेर गएको बाटो लम्किँदै छौँ हामी । उत्तर पसारिएको बाटोको पूर्व मानसरोवर विद्यालय टुप्लुकियो । त्यसमा केटाकेटी हस्याङफस्याङ गर्दै आइरहेथे ।
कान ठुङिरहेथ्यो चिसोले । आँखामा आँसु टिलपिल हुँदै थियो । गाला डामिरहेथ्यो हावा लागेर ।
घोडा र खच्चड घन्टी बजाउँदै सिमिकोट जाने र आउने हुल बढ्तै थियो । बाटोमा ट्र्याक्टर नि हुइँकिन्थे ।
‘यी हेलिमा बोकिएर झरेका हुन् सिमिकोट !’
‘अनि बोकेको कुकुरले मृग मार्छ त ?’