कविका लागि एउटा शब्द प्रचलित छ– आँसुकवि । यही शब्द सापटी लिएर भन्ने हो भने विश्वेश्वरप्रसाद कोइरालालाई पनि आँसु–उपन्यासकार भन्दा फरक पर्दैन । जेलमा रहँदा लेखिएका उनका उपन्यास यस्तै आँसुकारिताका परिणाम हुन् । सुन्दरीजल जेलमा लेखिएको उनको दिनपञ्जी अर्थात् दैनिकी ‘जेल जर्नल’मा यसबारे उनले रोचक रूपमा उल्लेख गरेका छन्, ‘एउटा लघु उपन्यास बडो तेजीका साथ थालेको थिएँ– ८० पेज तीन दिनमै लेखिसिध्याएको थिएँ, तर त्यसपछि रोकिएको रोकिएकै छ’ (वि.सं. २०७४, पृ. १८३) ।
जेल जर्नलमै उनले आफू ‘तीव्र बेगको अभिव्यक्तिमा मात्र प्रस्फुटित’ हुन सक्ने पनि बताएका छन् । त्यति मात्र होइन, आफूमा कविको गुण भएको, तर संगीत र ध्वनिका बारेमा शिक्षा कम भएकाले कवि हुन नसकेको समेत स्वीकार गरेका छन् । विश्वेश्वरप्रसाद कोइरालाको कवित्वको भावाबेग उपन्यासका रूपमा प्रस्फुटित हुन पुगेको देखिन्छ ।
तीन दिनमा ८० पृष्ठ लेखिएको त्यो अधुरो उपन्यास ‘सुम्निमा’चाहिँ होइन । यद्यपि, चर्चित र विवादित उपन्यास सुम्निमा पनि जम्मा आठ दिनमा लेखिएको हो । विश्वेश्वरप्रसाद कोइरालाले यो उपन्यास सुन्दरीजल जेलमै १९६४ जुन २१ देखि २८ मा लेखिसिध्याएका थिए । पुगनपुग १०० पृष्ठको यो उपन्यास पढ्नलाई पनि धेरै दिन साँचिराख्नु पर्दैन, सुरु गरेपछि सररर छिचोलिन्छ– एकै बसाइमा या केही घन्टामा ।
अरू उपन्यासका बारेमा भन्न सकिन्न, तर विश्वेश्वरप्रसाद कोइराला जेल नपरेका भए सुम्निमा चाहिँ पक्कै लेखिने थिएन । जेल परेर मात्र किन लेखिन्थ्यो र ! जेलमा रामनारायण मिश्र र दिवानसिंह राईबीच हिन्दू र किराँत संस्कृति–सभ्यताका सन्दर्भमा गरम बहस नभएको भए पनि यो उपन्यास लेखिने थिएन । यी दुईको बहस सुनेपछि विश्वेश्वरप्रसाद कोइरालालाई यो उपन्यास लेख्ने ‘प्लट’ फुरेको थियो । सुम्निमा र बिजुवाको कथा उनले दिवानसिंह राईबाट सुनेका हुन् भने सोमदत्तको कथा रामनारायण मिश्रबाट । मिश्रले अध्यात्मवाद, राईले भौतिकवादमा आधारित भएर गरेको बहसबाट आख्यानका रूपमा सुम्निमा जन्मिएको हो ।
०००
तर, मुन्दुमकी सुम्निमा र विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासकी सुम्निमा अलग–अलग हुन् । कोइरालाले पुनर्रचना गरेको सुम्निमा मुन्दुमकी सुम्निमा होइनन् । मुन्दुमकी सुम्निमाको कथा अर्कै छ, उपन्यासकी सुम्निमाको कथा अर्कै छ । मुन्दुमकी सुम्निमा मातृसत्तात्मक समाजकी हुन्, उपन्यासकी सुम्निमा पितृसत्तात्मक समाजकी पात्र हुन् । यी दुई सुम्निमाले बाँचेको समय अलग–अलग छ ।
किराँत राईहरूको मुन्दुमअनुसार उहिले यो धर्तीमा प्रकृतिले पानी उब्जायो र गहिरा खाल्डा भरिएर तलाउ बनियो । तलाउ माझमा लेउ उम्रियो, बढ्यो, कक्रिँदै गयो । कक्रिएको लेउमाथि निगुरो र दुवो उम्रियो । निगुरो उकालो बढ्दै आकाशतर्फ झ्याँगियो, उँधो पानीभित्र जरा झा¥यो । दुवो फैलिँदै तलाउको छेउमा निस्केर पानी र जमिनका बीचमा पुल भएर झ्याँगियो । त्यो निगुरो भने लामो समयपछि बूढो भएर म-यो र मक्किएको निगुरोको फेदमा धमिरा उब्जियो । जरा खाँदै जाँदा धमिरा माटोमा पुग्यो ।
माटो खाँदै ल्याउँदै गरेर निगुरोको फेदमा देवल उठायो । त्यो देवल तलाउभन्दा माथि पनि देखिने गरी अग्लो बनायो । त्यो देवललाई माथिबाट घामको तापले ततायो, तलबाट चिसो पानीले भिजायो । घामको ताप र पानीको चिसो भेट हुने ठाउँमा प्रकृतिले नाभी बनायो र त्यहाँबाट माता चिनिमा पैदा भइन् । उनी हुर्किंदै गएर तरुनी भइन् ।
एक दिन चिनिमाको जिउमा रजस्वला भएर पधेँरोमा नुहाएर बेस्सरी घाममा सेकिँदा पसिना बग्दै रजस्वलामा मिसिँदा गर्भवती भइन् । पसिनाले गर्भवती भएकी चिनिमाको कोखबाट पहिलो सन्तान पारुहोँ (माइती) जन्मियो जसलाई किराँत राईहरूले पारुहाङ, पारु इत्यादि विभिन्न नामले सम्बोधन गर्छन् । पारुहोँ जन्मिएको रसबाट नाइमा (चेली) जन्मिइन् जसलाई सुम्निमा, सुम्निम इत्यादि विभिन्न नामले किराँत राईहरू सम्बोधन गर्छन् ।
सुम्निमा तरुनी भएपछि आमा चिनिमाले केटा खोजी गरिन् । आमा चिनिमाले माइती पारुहाङसँग विवाह गरिदिनका लागि बोलाउन पठाइन् । सुरुमा पारुहाङलाई बोलाउन मन्स्याप्रो पठाइन्, तर पारुहाङसम्म पुग्न सकेन । त्यसपछि हावा–बतासलाई पठाइन् । हावा–बतासले ‘आमा चिनिमाले तपाईंसँग सुम्निमाको विवाह गराइदिन खोज्नुभएकाले लिन आएको’ भनेपछि पारुहाङ राजी भए ।