म राति अबेरसम्म सामाजिक सञ्जालमा भुल्छु। बढीजसो इन्स्टाग्राम र युट्युब चलाउँछु। फेसबुक कमै खोल्छु। कामका लागि जिमेल, ह्वाट्सएप र भाइबरमा समय बित्छ। टिकटकमा मेरो अकाउन्ट छैन।
कामकै कारण दैनिक घर पुग्दा प्रायः रातको नौ-दश बज्छ। इमेल, मेसेजको रिप्लाई गर्दा कहिलेकाहिँ एक-दुई बजेसम्म पनि लाग्छ।
मेरो लागि सामाजिक सञ्जाल ‘भर्चुअल पर्सनालिटी’ हो। फुर्सद छ भने धेरै पनि चलाउँछु।
अहिले सामाजिक सञ्जाल एउटा समुदायजस्तो भइसक्यो। म को हो भन्ने कुरा नै सामाजिक सञ्जालको प्रोफाइलले देखाउन थाल्यो। यो आफ्नो व्यक्तित्व, चरित्र सबै सामाजिक सञ्जालले व्याख्या गर्ने समय हो।
मेरो व्यक्तित्व बनाइदिएको पनि सामाजिक सञ्जालले नै हो।
म मिस वर्ल्डमा जाने बेला विमानस्थलमा एकजना पनि पत्रकार थिएनन्। तर त्यसको बीस दिनपछि बाबाआमा मलाई भेट्न चीन प्रस्थान गर्न एयरपोर्ट पुग्दा पत्रकारको भीड लागेको थियो । मिस वर्ल्डमा सहभागी हुन चीन गएको बीस दिनमा मेरो सामाजिक सञ्जालमा लाखौं फलोअर्स थपिए।
अहिले पनि विमानस्थलमा बूढी उमेरका आमाहरूले नेपालको चेली भनेर गाला सुम्सुम्याउनुहुन्छ। तिमीलाई त हामीले भोट गरेको नि भन्नुहुन्छ। त्यो सुन्दा एकदम खुसी लाग्छ। मिस वर्ल्डमा गएका बेला मलाई फलो गर्ने कतिले त मलाई चिन्नुभएको थिएन। तर पनि नेपालको चेली भन्दै भोट माग्नुभयो। यो सबै सामाजिक सञ्जालले नै गर्दा भएको हो।
ह्वात्तै आएका फलोवर्समा नेगेटिभ फलोअर्स पनि धेरै हुनुहुँदो रहेछ। त्यसलगत्तै मलाई जोडेर धरै गलत कुराहरू आए। त्यसपछि नै मलाई सामाजिक सञ्जालमा नेगेटिभ जमात पनि हुन्छ भनेर थाहा भयो। तर राम्रो पक्ष के हो भने धेरै फलोअर्स सकारात्मक छन्।
अहिले सामाजिक सञ्जालमा भाइरल हुने ट्रेन्ड छ। केही दिन एउटा कुरा भाइरल हुन्छ। दुई दिनपछि अर्को भाइरल कुरा आउँछ।
म जब युट्युब खोल्छु। अचम्मित हुन्छु। जे ट्रेन्डिङ छ, त्यसकै पछाडि माइक लिएर युट्युबरहरू दौडिएका छन्। धेरैको ध्यान भिजिटर कसरी बढाउने भन्नेमै छ। यो देख्दा दुःख लाग्छ।
मैले कुनै विषयमा राम्रो अन्तर्वार्ता दिएँ भने त्यस्ता भिडिओको भ्युज एकदम थोरै आउँछ।
अर्कोथरि अन्तर्वार्ता हुन्छ, ‘जहाँ श्रृंखलाजी भन्दिनुपर्यो तपाईंको कलिउडमा मन पर्ने नायक को हो’ भनेर प्रश्न सोधिन्छ। सोधेपछि जवाफ दिनुपर्यो।
अनि उहाँहरूले ‘श्रृंखलाले यसो भनिन्’ भनेर हेडलाइन राख्दिनुहुन्छ। अनि त्यसकै भ्युजचाहिँ १० लाख पुग्छ। यस्तो देख्दा एकदम दिक्क लाग्छ।