धेरै मध्यान्तर भए, उनको जिन्दगीमा।
कुनै मध्यान्तरले जीवनको रंग फेरिदिए अनि कुनैले जिन्दगीको रूप।
‘हो, मेरो जिन्दगीमा त्यस्ता इन्टरभल धेरै भए। र, प्रत्येक इन्टरभलमा जिन्दगीका फरकफरक कथा जोडिएका छन्,’ उनलाई लाग्छ, ‘ती धेरै कथामध्ये केही त मेरो जीवनका बर्बादीका कथा थिए, तर फेरि मैले जिन्दगीको बाटो फेर्न सकेँ।’
सम्पन्न परिवारको एक्लो छोरो। बाबुआमा सरकारी जागिरे। जिन्दगीमा कमी केही नै थिएन।
जिन्दगी त मनमौजी नै थियो। न बाआमाको डर, न पैसाको कमी। दुःख, अनि अभावले कहिले छुने हिम्मत गरेनन्। भोक–प्यासले कहिलै सताउन पाएन।
पाइला कता जाँदैछन्, हिँड्दाहिँड्दै पनि थाहा भएन उनलाई। मतलव पनि किन पो गर्नु र? साथीभाइको संगत। स्कुले जीवन। उसै त मस्तमौलाना समय हो, जीवनको यो।
१५ वर्षे किशोर अभिराज क्षेत्री। कक्षा १० पढ्थे।
पढाइमा मात्र होइन, हरेक कुरामा ‘कम्पिटिसन’ उस्तै हुन्थ्यो, यो स्कुले जीवनमा।
ससाना कुराले ‘इगोहर्ट’ हुने।
‘त्यस बेला लाग्थ्यो साथीहरूले गरेको काम नपछ्याउने हो भने त, त्यो सोसाइटीमै नपरिने हो कि भन्ने डर हुने के।’
थाहा थिएन, यही ‘डर’ले उनलाई एउटा पीडापूर्ण ‘एडिक्ट’ बनाउँछ भन्ने।
नभन्दै उनी त्यो ‘डर’को भंयकर यात्रामा घिसारिए।
उनी कक्षा १० मा पढ्थे। एक दिन स्कुलको पिकनिक थियो। साथीहरू सबै पिकनिकमा रमाइलो गर्दै थिए।
कक्षामा एउटा ‘ग्याङ’ थियो उनको। त्यो ग्याङ अलि पर एकान्तमा बसेर धुँवा उडाइरहेको थियो। रक्सी, बियरका केही बोतल रित्तिसकेका थिए।
पहिलोचोटी उनले चुरोटको त्यो धुँवा र रक्सीका प्याला ‘स्वाट्ट’ पारे। त्यो एउटा सुरुआत थियो।
‘साथीहरूको ग्रुपमा नजाँदा उनीहरूले मलाई एक्लो बनाउलान्, साथ नलाउन, मलाई ‘एक्सेप्ट’ नगर्लान् कि भन्ने डर हुने त्यो एउटा पेअर प्रेसर पनि हुँदोरहेछ।’ कता कता उनलाई पछुतो पनि लाग्छ कि ‘मैले त्यो बेला अटो सजेसन लिएँ र, उनीहरूकै ग्रुपमा सामेल भएँ। पछि एउटा भंयकर एडिक्सनसम्मै पनि।’
प्रेम र ड्रग्सले दिएको त्यो पीडा