प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको स्वास्थ्य रिपोर्टले 'ग्रीन-सिग्नल' दिएपछि उनी शुक्रबार नै नेपाल फर्कने भएका छन् ।
उनको निजी सचिवालयका एक सदस्यले बताएअनुसार उनी सिंगापुरबाट थाइल्यान्ड हुँदै शुक्रबार अपराह्न थाई एयरवेजबाट काठमाडौैं आइपुग्ने छन् ।
प्रधानमन्त्री ओलीसँगै उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार मात्र सिंगापुर पुगेका पार्टी प्रतिनिधि वामदेव गौतम र विष्णु पौडेल पनि फर्कने बताइएको छ ।
प्रधानमन्त्री ओली मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न भदौ ५ गते सिंगापुर गएका थिए । त्यहाँको नेसनल युनिभर्सिटी अस्पतालमा उनको दोस्रो चरणको उपचार भएको थियो । एकसाताअघि मात्र पनि उनी सिंगापुरमै उपचार गराएर फर्किएका थिए ।
यो पनि हेर्नुहोस्
यूएनमा गाडी हाक्ने नेपाली चेलीहरु
यसअघि उपचारका क्रममा सिंगापुरको आतेजाते हवाइ भाडा सरकारले तिरिदिने र बाँकि उपचार आफ्नै खर्चमा गराउने जानकारी गराएको उनको किचेन क्याविनेट यसपटक भने केही बोलेको छैन ।
यसैबीच नेपालको संसदमा पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा सत्तारूढ र प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसका सांसदबीच दोहोरी चलेको थियो । प्रमुख प्रतिपक्षी सांसद गगन थापाले प्रधानमन्त्रीको अस्वस्थ अवस्थालाई ध्यानमा राखेर उनलाई विश्राम दिन आग्रह गरेका थिए भने सत्तारूढ नेकपाका सांसद डा. सूर्य पाठकले प्रधानमन्त्री ओलीको कुशल नेतृत्वबाट अत्तालिएर कांग्रेसले यो गोटी चालेको बताएका थिए ।