उत्तर प्रदेशमा गोवध गर्न प्रतिबन्ध लागेपछि 'भारतबाट नेपालतिर गाईगोरुको ओइरो'

भारतको उत्तर प्रदेशले गोबधमा प्रतिबन्ध लगाएपछि ठूलो सङ्ख्यामा गाईगोरु नेपाल भित्रिएका कारण पश्चिम नेपालका स्थानीय तहलाई चुनौती थपिएको अधिकारीहरूले बताएका छन्।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणा भन्छन्, "भारतको उत्तर प्रदेशको खुला सीमाबाट नेपालतिर गाईगोरु धपाइदिएका छन्। हामीले कति दिन पाल्ने?" 

 

गत साता उपमहानगरपालिकाले दैलेख पठाउन खोजेका गाईगोरुमध्ये दुई दर्जन सुर्खेतको वीरेन्द्रनगरमा मृत अवस्थामा भेटिएपछि पश्चिम नेपालका स्थानीय निकायले छाडा चौपायाको उचित व्यवस्थापन गर्न नसकेको आरोप लागेको छ।

चरनको अभावमा पालिएका गाईहरू मर्न थालेपछि बाध्य भएर दैलेख पठाउन खोजिएको तर व्यवस्थित तरिकाले पठाउन नसक्दा यो भवितव्य घटना घटेको राणाले स्वीकारेका छन्। 

सुर्खेतमा त्यसरी गाईगोरु मरेको भेटिएपछि नेपाललाई पुन: हिन्दू राज्यको घोषणा गर्नुपर्ने माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचन जितेका राणाको आलोचना भएको छ।

प्रकाशित मिति: : 2019-09-05 22:19:47

प्रतिकृया दिनुहोस्