मंसिर १४ मा कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन? ४० करोड खर्च हुने अनुमान, ६८०० कर्मचारी खटिने

काठमाडौं- मंसिर १४ का लागि तोकिएको उपनिर्वाचन ४७ जिल्लामा हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य-१, प्रदेशसभा सदस्य-३, उपमहानगरपालिका प्रमुख-१, गाउँपालिका अध्यक्ष-३, गाउँपालिका उपाध्यक्ष-१, वडाध्यक्ष-४१ सहित ५० पदका लागि निर्वाचन गर्न लागेको हो।

गत फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक  उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की-२ सहित ५० पदका लागि निर्वाचन हुन लागेको हो। 

यसैगरी, दाङ-३ ‘ख’ बाट प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तमकुमार ओली, भक्तपुर-१ 'ख'बाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछाने र बागलुङ-२ 'ख'बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद टेक बहादुर घर्ती विजयी भएको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। ओलीको सवारी दुर्घटनापछि उपचारका क्रममा मृत्यु भएको थियो। लामिछानेको मस्तिष्कघातका कारण ज्यान गएको थियो। जन्डिसका बिरामी घर्तीको भारतमा उपचारकै क्रममा मृत्यु भएको थियो।

स्थानीय तह अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारका क्रममा गत वर्षको साउन १ मा निधन भएको थियो। पाँचथर फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको गत माघमा मृत्यु भएको थियो। संखुवासभाको मकालु गाँउपालिकाका अध्यक्ष खड्ग कटुवालको २०७४ को पुस ३० मा मृत्यु भएको थियो। महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोदकुमार चौधरीको गत बैशाखमा उपचारका क्रममा मृत्यु भएको थियो। हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षको पद पनि रिक्त छ। नियमित चुनावको एकवर्ष अघि पद रिक्त भए मात्रै उपनिर्वाचन हुने व्यवस्था छ। वडा अध्यक्षभन्दा तलका पदमा भने उपनिर्वाचन गर्ने व्यवस्था सविधानमा छैन।

विभिन्न स्थानीय तहका ४१ वडामा उपनिर्वाचन हुने भएको छ। पाँचथरमा फिदिम नगरपालिकाको-१ र हिलिहाङ-७ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुनेछ। मोरङको धनपालथान-२, सुनसरीको धरान उपमहानगरपालिका-७ मा वडाध्यक्ष पद खाली छ। 

संखुवासभाको खाँदबारी-३,खोटाङको साकेला गाउँपालिका-३ सप्तरीको छिन्नमस्ता-७, सिराहाको कल्याणपुर नगरपालिका-१२ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुनेछ। महोत्तरीको वलवा नगरपालिकाका-८ र २ का साथै मटिहानी नगरपालिकाको-६ मा  वडा अध्यक्षका पद खाली भएकाले यी स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुने तय भएको छ। 

यसैगरी, सर्लाहीमा हरिपुर्वा-१,रौतहटमा गढिमाई-२,बारामा बारागढि-१,पर्सामा सखुवा प्रसौनी-५ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुनेछ। रामेछापको उमाकुण्ड-५,सिन्धुपाल्चोकको इन्द्रावती -८,काभ्रेको धुलिखेल-२,काठमाडौंको दक्षिणकाली-३ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुनेछ।

प्रकाशित मिति: : 2019-09-03 06:34:35

प्रतिकृया दिनुहोस्