टोरन्टोमा हिमालयन मेला : किन घण्टौं नाचे नेपाली ?

टोरन्टोमा हिमालयन मेला । तस्बिर : राम के मोक्तान

नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसीसीएस)ले आयोजना गरेको ‘हिमालयन फेस्टिभल–२०१९’ शनिवार साँझ सम्पन्न भयो । टोरन्टोको नाथन फिलिप्स स्क्वायरमा आयोजित यो नेपाली मेला झण्डै ६ घण्टा चल्यो । 

अरु बर्षजस्तै यसपल्ट पनि मेलामा थुप्रै नेपाली सहभागी भए । त्यहाँबाट फेसबुकमा ‘लाइभ’ गर्ने दर्जनौं भए । ‘लाइभ’ नगर्नेले मेलाको माहोल फोटो र भिडियोमा पोष्ट गरे । यसरी टोरन्टोका थुप्रै नेपाली मज्जैले झुमे । 

‘नेपाल भ्रमण बर्ष २०२०’को पूर्वसन्ध्यामा आयोजित मेलालाई ‘नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउन’ पनि महत्वपूर्ण हुने बताइयो । अर्थात्, भ्रमण बर्ष पूर्वसन्ध्यामा आयोजित मेलामा नेपालको पर्यटनले राम्रै चर्चा पायो । 

क्यानडामै रहेर पनि मेलामा सहभागी हुन नपाउने हजारौं नेपाली छन् । अनि मेलामा झुम्ने नेपालीका आफन्त र परिवारजन स्वदेश विदेशमा उत्तिकै । उनीहरुलाई चासो हुनसक्छ, मेलामा दिनभर के के भयो ?



० मेलाको मुख्य आकर्षण थियो– गायकद्वय समीर आचार्य र बुद्धिसागर बस्यालको प्रस्तुति । समापनअघि झण्डै डेढ घण्टा उनीहरुले मेलाका सहभागीलाई नचाए । अष्ट्रेलियाबाट आएका आचार्यको यो क्यानडामा पहिलो प्रस्तुति । टोरन्टोमै बस्ने बस्यालले भने हिमालयन मेलामा बर्षेनी जस्तै प्रस्तुति दिँदै आएका छन् । 

० ‘मेरो दुनियाँ बेग्लै छ...’, ‘घाममा सुकाइदेउ...’ हुँदै ‘कुरा साँचो छ...’ र ‘लेकाली हे चोयाको डोको...’सम्मका गीत गाउँदा नाथन फिलिप्स स्क्वायरमा उपश्थित नेपाली गायकद्वयसँगै झुमेका थिए । आचार्य र बस्यालको प्रस्तुति पर्खेर बसेका नेपालीले उनीहरुको गायकीमा स्वर खाप्दै आफूलाई पसिना पसिना बनाए । 

० मेलामा ‘एभरेष्ट कला यात्रा’का तर्फबाट दुईवटा गीतमा नृत्य देखाइयो । साथै, ‘सिर्जनशील नेपाली समाज’का तर्फबाट अर्को नृत्य प्रस्तुत भयो । सामूहिकरुपमा ‘युथ विङ्स’को नृत्य अर्को आकर्षण रह्यो । नेपाली गीतमा नृत्य प्रस्तुत भइरहँदा मेलामा नजर लगाउने गैर नेपाली पनि उत्तिकै देखिए । 

० ‘सिर्सया हिगू’ बोलको नेवारी गीतमा लसाता देशारले नृत्य देखाइन् । ‘माया लुकी लुकी..’ मा निश्मा नेपालले । समी तामाङले पनि नृत्य गरिन् । साथै, आश्था, अनु र देविकाको नृत्य प्रस्तुतिले मेलाको माहोल गर्मियो । टोरन्टोका पूर्वमेयरको नाममा निर्मित नाथन फिलिप्स स्क्वायरमा नेपाली एकपछि अर्को नृत्य हुनु स्मरणीय रह्यो । 

० मेलालाई साँगीतिक बनाउन गणेश न्यौपाने, नारायण न्यौपाने, दावा लामा, सरुन श्रेष्ठ, सिरिन गुरागाईं, विनय निरौला आदिले छुट्टाछुट्टै गीत प्रस्तुत गरे । मेलाको एउटा उद्देश्य नेपाली गीत संगीतलाई टोरन्टोको स्टेजमा प्रस्तुत गर्नु र यहाँ बस्ने नेपालीलाई बढीभन्दा बढी मनोरञ्जन दिलाउने देखियो ।  

० झण्डै १० मिनेट पञ्चेबाजा बजाइएको मेलामा लाखे नाच पनि देखाइयो । देबेन्द्र अधिकारीले छोटो हास्य प्रस्तुति दिए । पञ्चेबाजाको धून गुञ्जिँदा नेपाली त पग्लिने नै भए, छेउछाउका गैर नेपालीले पनि मेलातिर नजर लगाए । मेला महोत्सव भइरहने यो स्क्वायरमा नेपाली मेला भने धेरैलाई नौलो संस्कार र संस्कृतियुक्त लागे झैं देखियो ।

० ‘आज हाम्रो भेट भाको दिन...’, ‘पूर्व कोही पश्चिम घर...’, ‘ए ठूली ए ठूली...’ र ‘टुङ्ना र डम्फू बजाउँदै...’ गीतमा प्रस्तुत सामूहिक नृत्यले सबैलाई मनोरञ्जन दिलायो । केही साताको अभ्यासपछि स्टेजमा आइपुगेका कलाकारले आत्मविश्वासले भरिएको प्रस्तुति दिएका थिए । जसको फाइदा सहभागीलाई भयो । 



० भाइब्सको मन छुने प्रस्तुतिले मेलाको सान बढायो । धेरैलाई आधा घण्टा बितेको पत्तै भएन । कतिलाई नेपालकै पाखापखेरा पुगेको अनुभूति भयो । नेपाली लोकसंगीत प्रवर्द्धनमा सक्रिय सांगीतिक समूह ‘हिमालयन भाइब्स’का हरेक प्रस्तुतिले टोरन्टोका नेपाली कार्यक्रममा यस्तै रौनक थपिन्छ । 

० ‘जिन्दगानी दर्पणछायाँ...’, ‘असारै महिनामा...’, ‘भिज्यो मेरो रातो पछ्यौरी..’ जस्ता कालजयी गीत प्रस्तुत गर्दा मेलाका सहभागी शान्तपूर्वक स्टेजतर्फ फर्किएर भाइब्सका कलाकारलाई हेर्दै सुन्दैथिए । ती गीतको जीवन्त प्रस्तुतिले सायद उनीहरु नेपाल छँदाका पुराना दिन सम्झिएर जन्मेहुर्केको घर आँगन पुग्दैथिए । 

० तीजको माहौल भएर पनि हुनसक्छ, मेलामा रम्ने पुरुषभन्दा महिला बढी देखिए । त्यसमाथि तीज गीत र नृत्य पनि छँदैथिए । सप्ताहन्तको दिन, मेलाको माहोल । स्टेजमा नयाँ प्रस्तुति सुरु हुनै नपाई मञ्चमा नेपाली नारी नृत्यका लागि तम्तयार भइहालेको देखियो । 

० सबैले ताली बजाएर उद्घाटन गरेको मेलामा नेपाल र क्यानडाको राष्ट्रियगायन बजाइएको थियो । क्यानडामा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा प्रायः यसैगरी पहिले नेपालको र पछि क्यानडाको राष्ट्रियगान बजाइन्छ । दुबै राष्ट्रगान बज्दा अतिथि र सहभागी उठ्न चलन यहाँ पनि उही थियो । 

० सर्वोच्च शिखर सगरमाथा मात्र होइन गौतम बुद्ध, काँडेभ्याकुर, एकसिगें गैंडादेखि यार्सागुम्बादेखि कोशी टप्पुसम्मको चर्चा गर्दै महोत्सवमा ‘घुम्न चाहनेका लागि नेपाल साँच्चिकै नमूना गन्तव्य भएको’ बताइयो । नेपाल घुम्न इच्छुकलाई जानकारी दिने उद्देश्यले मेलास्थलमै सूचना केन्द्र राखिएको थियो । 

० एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरेले ‘हिमालयन मेला क्यानडाका नेपालीको पहिचान झैं भइसकेको’ भन्दै यो र यस्ता मेलाबाट नेपाली समुदायको गरिमा बढ्ने बताए । एनसीसीएसमै आवद्ध भएर क्यानडाका नेपालीमाझ सामाजिक काममा संलग्न घिमिरे एनआरएनएका नवनिर्वाचित अध्यक्ष हुन् । 



० उद्घाटन सत्रमै नेपाली समुदायका अगुवा कुञ्जरमणि शर्मा र नवराज गुरुङलाई आयोजक एनसीसीएसका तर्फबाट ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ प्रदान गरियो । संस्थाको मात्र नभई क्यानडामा नेपाली समुदायको श्रीबृद्धिमा उनीहरुको भूमिका महत्वपूर्ण मान्दै अवार्ड दिइएको हो । 

० क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै विदेशमा नेपाल र नेपालीको पहिचान राख्न यस्ता मेला महोत्सव प्रभावकारी हुने धारणा राखे । नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा  विदेशमा हुने यस्ता मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउने राजदूत ढुंगानाको राय थियो । 

० नेप्लिज क्यानेडियन सर्भिसेज सोसाइटीका उपाध्यक्ष लोक दोरङ्गाले आयोजक संस्था एनसीसीएस र हिमालयन मेलाबारे जानकारी दिँदै यसको आवश्यकता र औचित्यमाथि प्रष्ट्याए । एनसीसीएस नै क्यानडामा नेपाली समुदायको प्रतिनिधित्व गर्ने पुरानो संस्था भएको जनाइयो । 

० एनसीसीएसका अध्यक्ष बिदुर केसीको मन्तव्यसँगै मेलाको उद्घाटन सत्र सकियो । मन्तव्य राख्ने क्रममा अध्यक्ष केसीले टोरन्टोका सबैजसो नेपाली संघ संस्थासँग समन्वय गरेर आयोजित मेलाले क्यानडामा नेपाली समुदाय कसरी फैलिँदैछ भन्ने प्रष्ट सन्देश गएको बताए ।  

प्रकाशित मिति: : 2019-09-01 09:02:17

प्रतिकृया दिनुहोस्