भारतमा सम्पन्न साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा घरेलु टोलीसँग लज्जास्पद हार व्यहोरेको नेपाल तेस्रो पटक उपविजेतामा सिमित भएको छ।
शनिबार आयोजक भारतसँग भएको फाइनलमा नेपाली टोलीले ७–० को लज्जास्पद हार बेहोरेको हो।
कल्याणी रंगशालामा भारतलाई सानदार जित दिलाउन सिद्धार्थले ह्याट्रिक गर्दा महोसन सिंह, अमन दिप, शिवाजित सिंह र हिमाशं जाग्राले समान १-१ गोल गरेका थिए।
खेलको १५औं मिनेटमा महोसनले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए। अमनले ४१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे।
पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा शिवाजितले गोल थप्दै टोलीलाई पहिलो हाफमा ३-० को अग्रता दिलाए।
दोस्रो हाफमा सिद्धार्थले ह्याट्रिक गर्दा हमाशंले ६५ औं मिनेटमा गोल थप्दै सहज जित दिलाए।
सिद्धार्थले दोस्रो हाफमा २८ मिनेट भित्र ह्याट्रिक पुरा गरे ।
५२ औं मिनेटमा पहिलो गोल गरेका सिद्धार्थले अर्को गोल ७६ औं मिनेटमा गरे । ८० औं मिनेटमा अर्को गोल थप्दै सिद्धार्थले ह्याट्रिक पुरा गरेका थिए।
यसअघि समूह चरणमा भारतसँगै ५–० ले पराजित हुँदै नेपालले च्याम्पियनसिपको सुरुवात गरेको थियो। कमजोर सुरुवात गरेको नेपाली युवा टोली त्यसपछि लयमा फर्केको थियो । श्रीलंका , बंगलादेश र भुटानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । तर टोली फाइनलमा फेरि एकपटक नराम्ररी पराजित भएको छ ।
दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराउँदै विजय लयमा फर्केको नेपालले त्यसपछि बंगलादेशलाई ४–१ र भुटानलाई ६–० ले हराउँदै अन्तिम दुईको यात्रा तय गर्यो ।
यू १५ मा च्याम्पियन बन्ने तेस्रो मौका गुमाएको नेपालले यसअघि यू १६ को नाममा हुने च्याम्प्यिनसिपमा दुई पटक फाइनल पुगेको थियो। सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल भारतसँगै पराजित भएको थियो।