०३५ सालमा एसएलसी दिँदा पनि कपिलको दिमागमा भविश्यको गोरेटो खनिएको थिएन । रुची भने थियो लेखक बन्ने तर साहित्यकार नै हुन्छु भन्ने खाका भने मस्तिष्कमा कोरिइसकेको थिएन । जिन्दगीले जता डोर्याउँछ उतैउतै हिँड्छु भन्ने थियो । तर चाह भने लेखनमै थियो ।
रामेछापबाट काठमाडौंको गाडी चढ्दा कपिललाई सपनाको भारीले थिचेको थिएन । मात्रै सुखी संसारको कल्पना थियो । दाइको साथ लागेर भक्तपुरमा बसेर शिक्षा संकायमा पढ्न थाले ।
आइए सकियो । ठमेलस्थित पद्यमज्योती कलेजमा व्यवस्थापन संकायमा भर्ना भए । जिविको चलाउनु थियो । पढ्दै पढाउँदै गर्न थाले ।
आईएसँगै पढेका तोया गौतमले एक दिन भने, “कपिल म त नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)मा पत्रकारिताको तालिम लिँदैछु नि !” एनपीआई को दोस्रो ब्चाच थियो । कपिलले भने, “म पनि लिन्छु नि त्यसो भए ।”
विडम्बना ! त्यो सालका लागि समय घर्किसकेको थियो ।
तर मन मारेनन् । एक वर्ष कुरेरै तेस्रो ब्याचमा उनले एनपीआईको तालिम लिए । १० महिने तालिममा उनले सिके पत्रकारिताको कखरा । फाइभ डब्ल्यु वान एच । एबीसी र प्रोक्सिमिटी । सिकाउने थिए, भारतदत्त कोइराला, गोकुल पोखरेल, ध्रुवहरि अधिकारी, सरच्चन्द्र वस्तीलगायत नेपाली पत्रकारिताका इतिहास ।
समय आयो इन्टर्नसिपको । कपिललाई ‘कामना’ जान मन थियो । एनपीआईले ‘कामना’ मासिकमा पुष्करलाल श्रेष्ठलाई भन्दियो ।
कारण ?
‘कामना’ उनले पढेका थिए । भाषा उत्ति धेरै राम्रो थिएन । कपिललाई लाग्थ्यो, यसमा भाषामा अझै सुधार गर्ने प्रशस्त ठाउँ छ । त्यहाँ गयो भने काम गर्दागर्दै जागिर पनि हुन सक्छ भन्ने उनको अनुमान थियो ।
‘कामना’ आएर उनले रिपोर्टिङ गरे । पूर्ण नेपाली, सुभद्रा अधिकारी लगायतसँग अन्तर्वार्ता गरे । संगीतकार अमर गुरुङको ‘इतिहासदेखि वर्तमानसम्म’ नामक लगातार तीन अंक लेखे ।
दुई महिनाको इन्टर्न सकियो । ‘कामना’ले उनलाई त्यहिँ जागिर दियो । मासिक पत्रिका थियो । त्यतिले मात्रै काम पुग्दैनथ्यो । त्यसैले उनले मार्केटिङको पनि काम हेर्न थाले । कपिल भन्छन्, “त्यो बेला मार्केटिङ भनेको डिष्ट्रिब्युसनलाई भनिन्थ्यो ।”
सँगै उनी पढाइरहेका पनि थिए । त्यहीबेला निमाविमा उनको जागिर स्थायी भयो । तर उनलाई पढाउनमा रुची थिएन । त्यसैले उनले छोडिदिए ।