काठमाडौं- क्रिकेट, एथ्लेटिक्स पछि भारोत्तोलन।
एउटा क्रिकेट खेलिरहेको खेलाडी दौड र लङजम्पमा भाग लिँदै अनौठो लाग्छ, अझ त्यसमा भारोत्तोलनमा भार उठाइरहेको देख्दा त के सोचिन्छ होला? ...दंगदास नै भइन्छ नि!
सञ्जु चौधरीको खेल यात्रा सुन्दा त्यस्तै दंगदास भइन्छ। घरि अचम्ममा परिन्छ। घरि रोचक कथा सुनेझै ध्यानमग्न होइन्छ त घरि यस्तो पनि कसरी गर्न सकिन्छ होला भनेर सोचमग्न।
क्रिकेटदेखि भारोत्तोलनसम्म पुग्नुको सञ्जुको एउटै मूल कथा- खेलप्रेम हो। खेल यही होस् भन्नेभन्दा खेल्न पाइयोस् भन्ने उनको पूरानो चाहनाले त्यसमा काम गरेको छ।
सञ्जुलाई सानैदेखि खेल्न बहुत गज्जब लाग्ने। सानोमा रमाइलो मानेर खेलिहिँड्ने वातावरण भने धेरै नेपाली खेलाडीको जस्तै उनको घरमा पनि थिएन।
नेपालगन्जको धम्बोझीमा विद्यालय छुटेपछि होस् या बुबाआमा काम गर्ने भेरी अस्पतालको आवास वरपर, सञ्जुको बाल्यकाल खेल्दै हुर्कियो। खेल्न निस्कँदा र खेलेर घर फर्कंदा गाली खानुपर्थ्यो। प्रायः गरी बुबाकै।
‘खेलेर पनि केही हुन्छ?’ बुबाको यो सोच र कहिलेकाहीँ त्यही वाक्य प्रश्न बनेर आउने निषेधमा सञ्जुसँग त्यसबेला जवाफ थिएन। त्यसैले लुकेर खेल्न निस्कन्थिन्। ढाँटेर खेलिहिँड्थिन्।