नेपाली यु १९ क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा श्रीलंकन टोलीमाथि सानदार जित निकालेको छ।
आगामी सेप्टेम्बर ५ देखि सुरू हुने अन्डर-१९ एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टिमले बिहिबार श्रीलंकाको बदुरलिया क्रिकेट क्लबलाई ८० रनले हराउँदै सानदार जित निकालेको हो।
खेलमा नेपालले पहिले ब्याटिङ गर्ने क्रममा ४६.४ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको थियो। नेपालको इनिंगको क्रममा खेल वर्षाले २ घण्टा रोकिए पछि पुनः सुरू भएको दोस्रो इनिंगको खेल ३१ ओभरमा छोट्याइएको थियो। डीएल मेथड अनुसार ३१ ओभरमा १६५ रनको लक्ष्य पाएको बदुरलिया २३.१ ओभरमा ८४ रनमै समेटिएको थियो।
नेपालको सहज जितमा देब्रे हाते स्पिनर सागर ढकाल, र अफ स्पिनर पवन सर्राफले उत्कृष्ट प्रदर्शन गरे।
सागर एक्लैले ५ विकेट लिँदा पवन सर्राफले २ विकेट लिएका थिए। इनिंगको सुरुवातमा तिब्र गति बलर कमल ऐरीले २ विकेट लिएका थिए। कुशल मल्लले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको थियो।
खराब सुरुवात गरेको नेपालको माथिल्लो क्रमका ब्याट्सम्यानहरुले लगातार विकेट गुमाउन पुगेका थिए। पवन सर्राफ खाता नखोली पहिलो ओभरमै आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो। त्यसपछि अघिल्लो खेलम अर्धशतक बनाएका आसिफ शेख १४ रन, खडक बोहरा २ रन तथा कप्तानरोहित पौडेल ३ रन बनाएर आउट भए।
फलस्वरूप नेपालको योगफल आठौँ ओभरमा ३३/४ पुग्यो।
अर्को किनारमा विकेट गुमेता पनि ओपनर रितले धैर्यतापूर्वक ब्याटिंग गरे। छैठौं नम्बरमा ब्याटिङ गरेका सन्दिप जोराले रितको साथ दिए। पाँचौ विकेटको लागि ५२ रनको साझेदारी गरेपछि जोरा २१ औं ओभरमा आउट भए।
८५/५ बाट नेपाल सानो योगफलमा समेटिने खतरा थियो तर सातौं नम्बरमा ब्याटिंग गर्न आएका हरि बहादुर चौहानले रितलाई राम्रो साथ दिए। छैठौं विकेटको लागि दुवैले शतकीय ( १०१ रन ) साझेदारी गरे।
रित ७६ रन बनाएर आउट भए भने अर्धशतक पुरा गरेर हरि पनि ५६ रन बनाएर आउट भए। कुशल मल्ल खाता नखोली आउट भए।
४४ औं ओभरमा रित आउट भएपछि भने नेपालले लगातार विकेट गुमाएको थियो। १८६/६ बाट २० रन जोड्दा बाँकी ४ विकेट नेपालले गुमाउन पुग्यो।
यसअघि पहिलो अभ्यास खेलमा नेपाल सिन्हालिज स्पोर्ट्स क्लब यु-२३ टिमसंग रोमान्चक खेलमा ३ विकेटले पराजित भएको थियो।
नेपालले अब तेश्रो अभ्यास खेल शुक्रबार चिलाउ मरियन्स क्लब बिरुद्ध खेल्नेछ।
यु-१९ एसिया कप अन्तर्गत नेपाल समूह ‘बि’ मा रहेको छ। नेपालको समूहमा आयोजक श्रीलंकासहित बंगलादेश र युएई छन्।
यस्तै समूह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत छन्।
दुवै समूहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलिसकेपछि उत्कृष्ट २ हुने टिम सेमिफाइनल प्रवेश गर्नेछन्।
नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसँग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमिफाइनल र सेप्टेम्बर १४ मा फाइनल हुने तालिका छ।