२९ वर्षे युवकको कृषिकर्म : वार्षिक डेढ करोड कारोबार

तस्बिरः अनलाइनखबर

 व्यवस्थापन विषयमा स्नातक गरेका पाल्पाका एक युवकले छोटो अवधिमै सफल र आधुनिक किसानको पहिचान बनाएका छन् । उनी हुन्, रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वर अर्चलेका २९ वर्षीय सुदर्शन पन्त । उनले पढाइ सकेपछि राम्रो जागिर खोजेनन् । बरु गाउँमै फर्केर व्यावसायिक तरकारी खेती सुरु गरे । ७० रोपनी जग्गामा गरिएको तरकारी खेतीबाट उनले वार्षिक डेढ करोडको कारोबार गर्छन् । उनले मनग्गे आम्दानीमात्र गरेका छैनन्, धेरै जनाको प्रेरणाको स्रोत पनि बनेका छन् उनी ।

२०६९ सालमा २५ रोपनी बारीमा परम्परागत तरिकाले तरकारी खेती शुरु गरेका पन्तले अहिले इजरायली प्रविधि डि्रप एण्ड मल्चिङ र एन्टी हेल स्टोन नेट हाउस प्रविधिमा तरकारी खेती गर्दै आएका छन् । हाल ७० रोपनीमा विस्तार भएको उनको एकल स्वामित्वको एभरग्रीन एग्रो फार्ममा अहिलेसम्म एक करोड रुपैयाँ बढी लगानी भएको पन्त बताउँछन् ।

पाल्पा सदमुकाम तानसेनबाट ४० किलोमिटर पश्चिममा रहेको  पन्तको फार्म खासगरी बेमौसममा सबैभन्दा धेरै क्याप्सिकम (भेंडे खुर्सानी) उत्पादन गर्ने फार्मको रुपमा चिनिन्छ । भेंडे खुर्सानीको बेमौसमी खेती समुन्द्र सतहबाट ८ सय मिटरदेखि दुई हजार मिटर उचाइ भएको जग्गामा बाह्रै महिना गर्न सकिन्छ । मौसमी खेती भने तराईमा पनि गर्न सकिन्छ । हाल चितवन, मकवानपुरको पालुङ र सल्यानको कपुरकोटमा व्यवसायिक रुपमा यसको खेती भइरहेको छ ।

प्रकाशित मिति: : 2019-08-29 10:54:35

प्रतिकृया दिनुहोस्