शालिकराम पुडासैनीले भरतपुर, चितवनको कंगारु होटलमा आत्महत्या नगरेको भए नारायणगढवासीले ‘यति विशाल प्रदर्शन’ देख्न पाउने थिएनन् । प्रदर्शन साँच्चै विशाल थियो । हिजो थियो, आज छ, कहिलेसम्म रहन्छ ? थाह छैन । स्थानीय प्रशासनले २०२८ सालमा बनेको ऐन अनुसार “नारायणगढ बजारको पूर्वमा रहेको आन्तरिक राजस्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिममा सप्तकोशी अस्पताल चोकदेखि चौबिस कोठी चोकसम्म, उत्तरमा आन्तरिक राजस्व कार्यालयदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै चौबीस कोठी चोक र दक्षिणमा घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै सप्तगण्डकी अस्पताल चोक” सम्म निशेधाज्ञा लगाएको छ ।
देशका जनता जागेर सडकमा ओर्लिएका बेला शान्ति स्थापनाका लागि उपायहरुको अवलम्वन गर्नु नै सही प्रशासनिक कार्य हो । यो कुरामा स्थानीय प्रशासन चुकेको छैन । अहिले स्थानीय प्रशासनले के गर्यो र के गरेन भनेर मीन–मेख निकाल्ने समय पनि होइन । शान्ति सुरक्षा कायम राख्नका लागि प्रशासनले पाँचजना भन्दा बढी मानिससँगै हिँडन पनि मनाही गरेछ ।