सलाहको दुई गोलमा लिभरपुलको लगातार तेस्रो जित

तस्बिरः एजेन्सी

मोहम्मद सलाहले दुई गोल गरेपछि लिभरपुलले लन्डन क्लब आर्सनललाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित निकालेको हो।

लिभरपुलले यसअघि नर्विच सिटीलाई ४–१ ले तथा साउथह्याम्पटनलाई २–१ ले हराएको थियो।

आर्सनलको यो पहिलो हार हो। आर्सनलले यसअघि न्यु क्यासलमाथि १–० को तथा बर्नलीमाथि २–१ को जित निकालेको थियो ।

घरेलु मैदानमा लिभरपुललाई जिताउन मोहमद सलाहले दुई गोल गरे। यस्तै जोएल माटिपको नाममा एक गोल रह्यो। आर्सनलका लुकास ट्रोरिराले एक गोल फर्काए ।

खेलको ४१औं मिनेटमा जोएल माटिपको गोलमा लिभरपुल पहिलो हाफमा १–० ले अघि बढेको थियो ।

दोस्रो हाफको शुरुमै लिभरपुलले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो। आर्सनलमा डिफेन्डर डेभिड लुइजले सलाहलाई लडाएपछि प्राप्त पेनाल्टीमा सलाह आफैंले गोल गरेका थिए ।

५८औं मिनेटमा सलाहले फाविन्होको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलाई ३–० ले अघि बढाए।

८५औं मिनेटमा लुकास टोरेराले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने कोशिश गरे।

त्यसपछि थप गोल हुन नसक्दा लिभरपुल ३–१ ले विजयी हुन सफल भयो ।

लगातार तेस्रो जितसँगै लिभरपुल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। पराजित आर्सनल समान ३ खेलबाटै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: : 2019-08-25 07:47:20

प्रतिकृया दिनुहोस्