उनलाई धेरैले ‘नक्कली प्रचण्ड’ भनेर चिन्छन् । प्रचण्डको बोली र लबज मात्रै होइन, भाव/भंगीको पनि दुरुस्त नक्कल गर्छन् उनी । उनको कलाका थुप्रै फ्यान, फलोअर्स छन् । अझ गाईजात्रा पर्व आसपासको त उनलाई भ्याइनभ्याई हुन्छ, प्रचण्डको क्यारिकेचर गर्न । हो, जीवनमा अनेक संघर्ष गर्दै हाँस्यव्यङ्ग्यमा स्थापित हुँदै गरेका एक कलाकार हुन्, उनी । उनी अर्थात् घनश्याम गौतम ।
नेपाली हाँस्य प्रहसनका लागि उनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेका छन् । नक्कली प्रचण्ड बनेर मात्रै होइन, उनले निरन्तर राजनीतिक, सामाजिक बिकृति विसंगतिमाथि प्रहार गरिरहन्छन् ।
क्यारिकेचर र प्रहसन मात्रै होइन, स्टेज नाटक, रेडियो नाटक र गीत लेखनमा पनि उनको दर्बिलो उपस्थिति छ । कलाक्षेत्रमा अहिले उचाई बनाउन उनले गरेको संघर्ष प्रेरणादायी छ ।
गाउँमा रेडियो–टेलिभिजन थिएन । हुनेखानेको घरमा मात्रै रेडियो हुन्थ्यो ।
२०४५ सालतिरको कुरा हो । गौतमका बुबाले घरको लैनो भैंसी बेचेर रेडियो किने । घरमा पनि रेडियो घन्किन थाल्यो । गाउँलेहरु भेला भएर रेडियो सुन्थे ।
रेडियो भित्र मान्छे हुन्छ ? कसरी बोल्छ ? जस्ता जिज्ञासाले उनलाई सताउँथ्यो । त्यो जिज्ञासाले नै उनलाई अहिलेको स्थानमा ल्याइपुर्याएको हो ।
‘एक दिन रेडियोमा बोल्ने मान्छे कस्तो हुँदोरहेछ भन्ने लाग्यो । रेडियो खोलेर हेरेँ । मान्छे भेटिनँ । ब्याट्री भेटेँ ।’ उनले विगत सुनाए, ‘सिनेमा हेर्न पैसा हुँदैनथ्यो । स्कुलबाट भागेर सिनेमा हलको प्वलबाट लुकीलुकी सिनेमा हेरिन्थ्यो । राजेश हमालको एक्सन, डाइलग देखिन्थ्यो ।’
त्यहीं बेलादेखि उनलाई रेडियोमा बोल्ने र फिल्मको हिरो बन्ने सपना जाग्यो ।
गाउँमा विभिन्न नाटक हुन्थे । अग्रजले गरेको नाटकमा उनी सहभागी हुन पाउँदैनथे । उनलाई दुःख लाग्थ्यो ।
गौतम बाल्यकालदेखि नाचगानमा औधी रुचि राख्थे । नाच्न, गाउँन सिपालु पनि थिए । गीत गाएर थुप्रै पुरस्कार पनि जिते । र, विस्तारै कलाक्षेत्रमा लाग्ने हुटहुटी बढ्यो । र, खाना नपाए पनि कलाकारितामै जीवन समपर्ण गर्ने निधो गरे ।
झापामा बाल्यकाल विताएका गौतमले झापामै आठ कक्षासम्म अध्ययन गरे । त्यसपछि काठमाडौं आएर पढे ।
पढाईमा अब्बल उनले दजनौं नाटकमा अभिनय गरिसकेका छन् । स्कुलमा राम्रो पढ्ने भएकोले उनले विभिन्न पुरस्कारहरु प्राप्त गर्थे । स्कुलमा नाटकहरु थुप्रै हुन्थ्यो । ‘चर्काे घाममा भागीभागी नाटक हेर्न गइन्थ्यो’ उनले भने ।