नयाँ शताब्दी सुरू भएयता २३ सय भन्दा धेरै बाघ मारिनुका साथै चोरीशिकार गरिएको छ।
ट्राफिक नामक संरक्षण समूहले सार्वजनिक गरेको प्रतिवेदनमा लोपोन्मुख प्रजाति बाघको सुरक्षाका लागि अझै धेरै काम गर्नुपर्ने आह्वान गरेको छ। सन् २००० यता प्रत्येक वर्ष चोरीशिकार गरिएका औसत एक सय २० वा सातामा दुईभन्दा धेरैं बाघ जफत गरिएको ट्राफिकले जनाएको छ।
यसबाट बाघको सुरक्षामा जोखिम बढेको समूहले चेतावनी दिएको छ। प्रतिवेदनका लेखक कनिथा कृष्णस्वामीले यो संख्या चिन्ताजनक रहेको बताइन्। उनी ट्राफिकको दक्षिणपूर्वी एसियाका गतिविधिको नेतृत्व गर्छिन्। “हामी यो लडाइँ हार्दैछौं जस्तो देखिन्छ,” उनले भनिन्।
सन् १९०० तिर पृथ्वीमा एक लाखभन्दा धेरै बाघ घुमिहिड्ने गरेको अनुमान छ। सन् २०१० मा विश्वभर बाघको संख्या ३२ सय मात्रै थियो। त्यसयता बाघको संख्या बिस्तारै बढेको छ। तर उनीहरूको संख्या विश्वभरी ३९ सयभन्दा धेरै नभएको अनुमान छ।
“जफत गरिएका छाला, जिउँदै वा मरेका बाघको चोरीशिकार र तिनका हड्डीले बाघका अंगको माग निरन्तर बढिरहेको पुष्टि हुन्छ,” कृष्णस्वामीले भनिन्। “अब कुराकानी गर्ने समय सकियो। थप बाघको क्षति रोकथाम गर्न कुरालाई काममा रूपान्तरण गर्नुपर्छ,” उनले भनिन्।
लोपोन्मुख पशुको सुरक्षाका लागि अभियान चलाउने र तिनका अंगहरूको चोरीशिकार गर्नेलाई पक्रिन सरकारलाई सहयोग गर्ने ट्राफिकले विश्वभरि नै बाघ जफत गरिएका १९ वर्षे तथ्याङ्कको नयाँ विश्लेषण प्रकाशित गरेको छ। सन् २००० देखि २०१८ सम्म ३२ देश र क्षेत्रमा अनुमानित दुई हजार तीन सय ५९ वटा बाघ जफत गरिएको ट्राफिकले पत्ता लगाएको छ।
छाला नै सबैभन्दा धेरै जफत हुने बाघको अंग हो। प्रति वर्ष औसत ५८ वटा बाघको पूरै छाला जफत हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। साथै जिउँदो वा मरेको बाघ जफत भएका घटना पनि बढ्दै गएका छन्।
प्रजनन केन्द्रहरूले विशेषगरी दक्षिणपूर्वी एसियामा बाघको गैरकानूनी कारोबारमा खेलेको भूमिकाबारे पनि अध्ययनले प्रकाश पारेको छ। कैद गरिएका पशुको कारोबारले जंगली पशुले भोग्नुपरेको दबाब कम हुने बाघपालन उद्योगले बारम्बार तर्क गर्दै आएको छ।
तर वन्यजीवन संरक्षण समूहले पशु र तिनका अंगहरूको किनबेच सम्बन्धी लाञ्छना कम गर्ने र उनीहरूका लागि नयाँ बजार सिर्जना गर्ने बताउँदै आएको छ। गएको दुई दशकयता थाइल्यान्डमा जफत गरिएका आधाभन्दा धेरै र भियतनाममा जफत गरिएका एक तिहाइ बाघ यस्तै प्रजनन केन्द्रबाट आएको ट्राफिकले जनाएको छ।
“थुनेर राख्ने पूर्वाधारबाट ल्याइएका बाघको जफत रोकिएको छैन। यसता पूर्वधारले बाघको संरक्षण गर्ने प्रयासलाई अवमुल्यन गर्नुका साथै गैरकानूनी गतिविधिका लागि अवसर पनि सिर्जना भएको छ,” ट्राफिककै अपराध विश्लेषक रामचन्द्र वोङले भने।
लोपोन्मुख प्रजातिको अन्तर्राष्ट्रिय कारोबार सम्बन्धी महासन्धि (सिआइटिइएस) का पक्ष राष्ट्रहरू जेनेभामा भेला भएको समयमा ट्राफिकले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। ३५ हजारभन्दा धेरै पशु र वनस्पतिको कारोबार व्यवस्थापन गर्ने सम्बन्धि मूल्याङ्कन र संशोधन गर्न उनीहरू त्यहाँ भेला भएका हुन्।