सुनौलो रंगको कपाल हेल्मेटको खाली भागबाट फिरफिर उडिरहेको देखिन्छ,
मुखमा मास्क सधैंजसो,
अक्सर अफिस टाइममा बाटो क्रस हुन्छ,
(बाध्यताले धुलोबाट केही हदसम्म जोगिन भए पनि) केटो कालो चश्मामा हुइँकिन्छ।
स्कुटरको रंग मरुन।
बाटो क्रस हुने समय र स्थान उही चोक,
उनको ओठको मुस्कान म कहिल्यै देख्न पाउँदिनँ
न त उनी आफ्ना नजर मसँग जुधाउन पाउँछिन्।
हामी दुईबीच मास्क र चश्मा अब्स्ट्याकल्स छन्।
समय सधैंजसो ८ बजेर ४० मिनेट।
म उनीलाई पर्खिरहेझैं, विपरीत दिशामा उनी मलाई कुरेझैं,
चौराहमा बसेका ट्राफिक प्रहरी लगातार संकेत दिइरहेका हुन्छन्।
हाम्रा बीचमा यदि कोही छ भने त्यो हो मास्क र चश्मा, ट्राफिक बिचरा के हाम्रा बीचमा।
ट्राफिक नियम नतोडेर स्टेरिंगमा बस्ने पनि कहीँ रोयल होलान् त त्यो पनि काठमाडौंमा,
रोयल भन्न मिल्ने त होला नि,
गणतन्त्र पो छ !!
मोनार्की भए पो त डर !!
रोड त मोनार्की हुँदाभन्दा आजकाल ब्लक गरिन्छ।
प्रजातन्त्र नहुँदा पनि बल्ने ट्राफिक बत्ती गणतन्त्र आएपछि बल्न छाडे,
कसोकसो चश्मा भित्रैबाट नजर जुधेको आभास हुन्छ अनि मास्कभित्रै रहेका ओठ मन्द मुस्कुराएझैं लाग्छ।
आँखाले आँखालाई र ओठले ओठलाई महसुस गरेको लगातार सातौं एनिभर्सरीको अवधि हो यो !!
फ्लाइट नं. एयरलाइन्सकी परिचारिकालाई थाहा होला
कल साइन ककपिटका पाइलट नै जानुन्,
आफू त यात्रु न परेँ,
पहिरन, हाफ पाइन्ट माथि कुर्ता !!
सधैझैं दाँत माझ्ने ब्रस, मञ्जन अनि दुईजोर कपडा, झोला मोबाइल चार्जर, सातौं एनिभर्सरीभन्दा पहिले जर्मन मित्रले सोलुखुम्बु जाँदा दिएको पानी बोक्ने निलो पानीबिनाको बोटल अनि ल्यापटपसहित करिब ६ केजी सदाबहार हातेझोला,
बोर्डिङ पास लिएपछि सिट नं. भने कण्ठस्त गर्छु। नभए साह्रै हेपाइ पो पाइन्छ।
यो यात्रु फकिर कुनै पनि हिसाबले प्लेन चढ्ने औकातको होइनजस्तो लागेर होला, परिचारिकाले बडो रेकी गर्छिन्।
जहाजको प्रवेशद्वारमा,
हातमा डा. जोसेफ मर्फीको द पावर अफ योर सबकन्सियस माइन्ड को रिभाइज्ड डा. इयान म्याक्माको पुस्तक।
परिचारिकाको लवज पूरै नेपाअंग्रेजी हुन्छ, आजकालका तन्नेरीमा नेपाअंगे्रजीको प्रभाव मस्त छ,
कसैले बुझोस् या नबुझोस्
चारवटा नेपाली शब्द पछि दुइटा अंग्रेजी ग्रामर नमिलेरै घुसिहाल्छन्।
सिट नम्बर हेर्दै कुनै औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेताजस्तै आसनग्रहण परिचारिकाले गराउँछिन्।
छेउको सिट केही बेर खाली.....
सिट बेल्ट बाँध्न आह्वान हुनै लाग्दा हतारहतार कोही छेवैको सिटमा बस्न पुग्छिन् अनि पो बल्ल प्रमुख अतिथि आएजस्तो पूरा क्लेभर र टाइमिङ मिल्यो।
म छिट्टै गइपुग्ने कसरी प्रमुख अतिथि हुन सक्छु?
कुनै पनि क्राइटेरियाले म प्रमुख अतिथि हुन लायक रहिनँ।
उता टँुडिखेलमा पनि त प्रमुख अतिथि लास्टाँ आका हुन्छन् कस्तो हैलट्ठु तँ पनि ।
बालुवाटारमा त झनै एकजना प्रमुख अतिथि १२ वर्षअघि बसेको कुर्सीमा अहिलेसम्म अरु कसैलाई बस्न सहजता छैन।
सुनेको अनि देखेको कुरो पनि !!
प्रमुख अतिथि भन्या चानचुने व्यक्ति हो,
ओइ हैलट्ठु ।।।