कुहिने र नकुहिने दुवै मिसिएको फोहोर काठमाडौं महानगरपालिकाले नउठाउने भएको छ । अब घरमै कुहिने र नकुहिने फोहोर छुट्याउन पनि महानगरको वातावरण विभागले आग्रह गरेको छ । ल्यान्डफिल साइटसम्म पुग्ने फोहोरको मात्रा कम गराउन हाउसहोल्ड फोहोर संकलन प्रणाली लागू गर्न लागिएको विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
फरक–फरक दिन संकलन गरिने
विभागका अनुसार कुहिने र नकुहिने फोहोर फरक–फरक बार उठाइनेछ । पहिलो चरणमा हाउस होल्ड प्रणाली लागू भएका वडामा कुहिने फोहोर आइतबार, मंगलबार, बिहीबार र शनिबार उठाइने छ । सोमबार र बुधबार भने नकुहिने फोहोर मात्र संकलन गरिने श्रेष्ठको भनाइ छ । ‘फोहोर घरमै छुट्याउनुपर्नेछ । नकुहिने फोहोर कवाडीमा बेच्ने र कुहिनेलाई कम्पोस्ट मल बनाउने योजना छ,’ उनले भने, ‘नकुहिने फोहोर कवाडी सामान किन्नेहरूलाई नै संकलन गर्न पठाउने योजना बनाएका छौँ । फोहारवालाले सीधै बेच्न सक्छन् ।’
कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्लान्टसमेत बनाउने योजना रहेको श्रेष्ठले जानकारी दिए । ‘निजी क्षेत्रलाईसमेत यही प्रणालीमा फाहोर संकलन गर्न भनेका छौँ,’ उनले भने । यसरी उठाइएको फोहोरको ६० प्रतिशतबाट कम्पोस्ट मल बनाउने, ३० प्रतिशत कवाडीमा जाने र १० प्रतिशत मात्रै ल्यान्डफिल साइटमा पुग्ने दाबी विभागको छ । यो प्रणाली चालू आर्थिक वर्षभित्र सबै वडामा लागू गरिने विभागले जनाएको छ । काठमाडौं महानगरभित्र दैनिक आठ सय ५३ टन फोहोर उत्पादन हुँदै आएको छ ।