सिधा कुरा जनतासँग फेमका टेलिभिजनकर्मी रवि लामिछानेको वयान सकिएको छ । उनले बयानमा के भने होलान् ? उनका पक्ष/विपक्ष दुबैमा नारावाजी गर्ने र बीचमा बसेर पर्ख र हेर भन्ने रमित जो कोहीलाई पनि त्यसैको चासो र चिन्ता छ ।
लामिछानेले सरकारी वकिलको रोहबरमा प्रहरी समक्ष बयान दिएका हुन् । सरकारी वकिलको कार्यालय चितवनसँग सम्बन्धित हाम्रो समाचार सूत्रले रविले पूर्णत: इन्कारी वयान दिदै सबै प्रश्नको उत्तर 'छैन र हैन' मा दिएको जनाएको छ । समाचार स्रोतका अनुसार उनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता, योजना तथा सम्पर्क केही नरहेको दाबी गरेका छन् ।
लामिछानेले यस घटनाको साँचो मानिएकी अस्मिता कार्कीलाई नचिनेको र उनीसँग कुनै किसिमले सम्पर्क पनि नगरेको बताएका छन् । सिधा कुरा जनतासँगको टेलिफोनबाट अस्मितासँग कुरा भएको बारेमा सोधिएको प्रश्नमा पनि उनले त्यसबारेमा आफूलाई केही थाहा नभएको बताएका छन् ।
लामिछानेले शालिकरामका बारेमा सोधिएको एक प्रश्नको उत्तरमा उनले न्युज २४ टेलिभिजन छोडेपछि कुनै सम्पर्क नभएको पनि बताएका छन् ।
लामिछानेले शालिकरामले आफूलाई आरोप लगाएको नलगाएको बारेमा केही थाहा नभएको बताउँदै उनले त्यससम्बन्धी कुनै भिडियोबारे पनि आफूलाई जानकारी नै नभएको बताएका छन् । उनले भिडियो छ भन्ने नै थाहा नभएकाले हेर्ने कुरा त हुदै भएन पनि भनेका छन् ।
रवि लामिछानेको वयानको पूर्ण पाठ भने आइतबार उनीविरूद्ध मुद्दा दायर गरेपछि बाहिरिने बताइएको छ ।