इस्टोनियामा उदारवादी विपक्षीको जित

एपी

बाल्टिक क्षेत्रबाट युरोपेली युनियनमा आबद्ध मुलुक इस्टोनियामा आइतबार सम्पन्न आमनिर्वाचनमा विपक्षी उदारवादी रिफर्म पार्टीले विजय हासिल गरेको छ। प्रधानमन्त्री जुरी रातासको सेन्टर पार्टीले भने चुनावमा पराजय व्यहोरेको छ ।

पूर्व युरोपेली सांसद काजा काल्लासको नेतृत्वमा रहेको रिफर्म पार्टीले २८ दशमलब ८ प्रतिशत मत प्राप्त गरेको थियो। प्रधानमन्त्री रातासको सेन्टर पार्टीले भने २३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

रातासको दलसँग गठबन्धन गरेका सोसल डेमोक्र्याट्स र अनुदारबादी इसामा पार्टीले क्रमशः ९ दशमलब ८ र ११ प्रतिशत ४ प्रतिशत मत प्राप्त गरेका थिए ।

एक सय एक सदस्यीय संसदमा यी दुई दलले रिफर्म पार्टीलाई समर्थन गर्ने सम्भावना छ । यदि दुबै दलले समर्थन गरेमा रिफर्म पार्टीको गठबन्धनको संसदमा ५६ स्थान हुनेछ । विगतमा झैं रिफर्म र सेन्टर पार्टीले विगतमा झैं मिलेर सरकार निर्माण गर्न पनि सक्नेछन् ।

विपक्षी नेता काल्लासले गठबन्धनका सबै विकल्पहरु खुला रहेको बताउँदै प्रधानमन्त्री रास्तासको दलसँग आफूहरुको मुख्यतः कर प्रणाली, नागरिकता र शिक्षाका विषयमा मतभिन्नता रहेको स्पष्ट पारे।

प्रधानमन्त्री रास्तासले विपक्षी रिफर्म पार्टीसँग पनि गठबन्धन हुनसक्ने बताएका छन्।

चुनावमा करिब ६३ प्रतिशत मतदान भएको थियो ।

सोभियत युनियनबाट अलग्गिएको इस्टोनियाले विगत तीन दशकमा एकल वा दुई दल मिलेर आलोपालो सरकार निर्माण गरेका छन् ।

दुबै पार्टीले युरोपेली युनियन र नेटोको सदस्यतालाई स्वीकार गरेका छन् । इस्टोनियामा ऋणसँग कूल गार्हस्थ्य उत्पादनको अनुपात युरोपेली क्षेत्रमै सबैभन्दा कम छ ।

सेन्टर पार्टीले निवृत्तिभरमा ८ दशमलब ४ प्रतिशत वृद्धि गर्ने घोषणा गर्नुका साथै सरकारको राजश्व वृद्धिका लागि आयकरलाई २० प्रतिशत र कर्पोरेट करलाई २१ प्रतिशत कायम गर्ने प्रस्ताव गरेको छ ।

सेन्टर पार्टीलाई रुसी अल्पसंख्यकहरुले समर्थन जनाइआएका छन् । करिब १३ लाख जनसंख्या रहेको इस्टोनियामा रुसी अल्पसंख्यक करिब एक तिहाई छन्।

प्रकाशित मिति: : 2019-03-04 23:33:52

प्रतिकृया दिनुहोस्