सिंहदरबारमै बम हानेर सरकारलाई धक्का दिने बिप्लव माओवादीको त्यो योजना !

तस्बिरः बिएल

भोजपुरमा आफ्ना नेता प्रहरीको गोलीबाट मारिएको विरोधमा बिप्लव माओवादीले गत जेठ १३ गतेलाई नेपाल बन्द गर्ने घोषणा गर्‍यो ।

आफ्ना नेता मारेको झोकमा विप्लव माओवादी सरकारलाई निकै झस्का दिन चाहन्थ्यो ।

त्यसैले जेठ १३ गतेको बन्दलाई सफल बनाउन  देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि देशैभर बम बिस्फोट गराउने पार्टीले योजना बनायो । योजनाअनुसार नै जनशक्ति परिचालित थियो।

तर, सिंहदरबारमै बम हानेर सरकारलाई धक्का दिने योजना योजनामै कार्यान्वयन भएन, योजनामै सिमीत रह्यो।

विप्लव माओबादीका एक उच्च नेताका अनुसार जेठ १३ गते सिंहदरबारलगायत देशभरका ६० ठाँउमा एकै समयमा बम विस्फोट गराउने लक्ष्य थियो ।

बिएल नेपालीसँग ती नेताले भने, ‘१३ गतेको नेपाल बन्दलाई ऐतिहासिक बनाउने पार्टीको योजना थियो, तर त्यो पूरा हुन सकेन ।’

ती नेताका अनुसार नेपाल बन्दको अघिल्लो दिन अनामनगर र सुकेधारामा तयारी अवस्थामा राखिएका बम बिस्फोट हुँदा त्यो योजना कार्यान्वयन हुन नसकेको हो ।

‘ती दुई घटनामा गरी ५ जनाको ज्यान गयो, पार्टीलाई ठूलो क्षति भयो, त्यति भएपछि देशैभरको योजनालाई 'ब्याक' गरियो,’ ती नेताले बिएल नेपालीसँग भने।

उनका अनुसार विस्फोट भएका दुबै रिमोट बम हुन् । त्यो दिन रिमोटको ब्याट्री हाल्दा त्यस्तो घटना भएको हो।

अनामनगरमा बिस्फोट भएको बम सिंहदरबारको पूर्वी कम्पाउन्डको खालि जग्गामा मानवीय क्षति नहुने गरी विस्फोट गराउने लक्ष्य रहेको ती नेताले बताए।

‘सिंहदबारसहित देशका ६० स्थानमा मानवीय क्षति नहुने गरी एकैपटक विस्फोट गराएर सरकारलाई धक्का दिने लक्ष्य थियो, अघिल्लो दिनको घटनाले सबै योजना रोकियो,’ ती नेताले भने।

उनका अनुसार सुकेधाराको विस्फोटमा ज्यान गुमाउनेमध्येका एक उच्च प्राविधिक थिए। उनको मृत्युले पार्टीलाई अर्कै खालको क्षति भएको छ।

‘हो, हाम्रो पार्टीलाई त्यो घटनाले केही क्षति पुर्‍यायो, साथीहरूको निधन भयो, हामी अत्यन्तै दुःखी छौ, प्राविधिक कमजोरीले यस्तो भएको हो, तर हामीले त्यो घटनाबाट ठूलो पाठ सिक्यौं,’ उनले भने।

गत जेठ १२ गते काठमाडौंको अनामनगर र सुकेधारामा बम बिस्फोट हुँदा पाँचजना विप्लव समूहका कार्यकर्ताको ज्यान गएको थियो।

अनामनगर र सुकेधारामा एकै समयमा भएको विस्फोटमा तत्कालै चारजनाको मृत्यु भएको थियो भने एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो।

मृत्यु हुनेमा समूहका कार्यकर्ता रामेछाप स्थायी घर भएका रामकुमार श्रेष्ठ, बझाङ घर भई कलंकी बस्ने प्रज्वल शाही, कालिकोटका विभुराम डिपेन विक, निरन्तर मल्ल र दाङको बबही गाँउपालिकाका  गोकुल रानामगर थिए।

प्रकाशित मिति: : 2019-08-02 08:55:56

प्रतिकृया दिनुहोस्