७ महिना अघिको कुरा हो। ईश्वर दाहाल एकदिन पशुपतिनाथ गएका थिए। मन्दिर परिसरमा बृद्ध–बृद्धा देख्दा उनलाई घर (धनकुटा)मा रहेका बुबाआमाको याद आयो। काठमाडौं ल्याएर पशुपतिको दर्शन गराउन पाए कस्तो हुन्थ्यो भन्ने कुरा मनमा खेल्यो।
असम्भव! उनको पारिवारिक अवस्थाका कारण यो सम्भव थिएन। उनले अब काठमाडौं ल्याउने अर्को विकल्प सोच्न थाले।
‘उहाँहरुको काठमाडौं आसपास देहान्त भयो भने मात्र पशुपतिमा आउने सम्भावना रहेछ’ ईश्वरले निस्कर्ष निकाले। त्यसपछि घर गएर उनले आफ्नो मनको भावलाई गजलमा उतारे। जुन माथिको शेर हो।
अर्थात् उनका धेरैजसो गजलहरु अनुभवसिद्ध हुन्छन्। कतिपय कल्पित पनि।
उनी कल्पनाभन्दा वास्तविकतामै रमाउँछन्। ‘मैले खाना खाएको छैन र म अनुभवसिद्ध गजल लेख्दैछु भनेँ समय घर्केको चाल नै पाउँदिन’, उनी भन्छन्, ‘त्यसदिन म गजलले नै अघाउँछु।’ गजलकार ईश्वर दाहाल। तस्विरः प्रविन कोइराला
धनकुटा बहुमुखी क्याम्पसमा उनी स्नातक पढ्दै थिए। दिदीघर गएका बेला एक दिन म्यागेजिनमा गजल शीर्षकमा केही पढे। बडो रमाइलो लाग्यो। कथा, कविता पढ्दाभन्दा फरक। ईश्वरले सोचे, ‘यस्तो लेख्न पाए त गज्जबै हुन्थ्यो यार।’
यो २०६९ सालतिरको कुरा हो। त्यसपछि त उनले त्यही म्यागेजिनमा भेटिएको गजलमा भएजस्तै शब्द कोर्न थाले। आफूले लेखेको सामग्री गजलजस्त लेखिसकेपछि उस्तै लाग्यो। त्यसपछि उनलाई म लेख्नसक्छु भन्ने भान भयो।
उनी जीवनमा भने आफू हाँस्यकलाकार बन्छु भन्ने थियो। थुप्रै स्टेज कार्यक्रममा प्रस्तुतिसमेत दिए। तर गजल लेख्न थालेपछि एकाएक उनी परिवर्तन भए। ‘गजल भनेको सिधै भावनासँग जोडिदोरहेछ। लेख्दा–लेख्दै म पनि भावुक हुन थालेँ’ ईश्वर भन्छन्, ‘त्यसपछि त हँसाउने काम नै छाडियो।’
उनले गजल रोज्नुको अर्को पनि कारण छ। २ वर्षे प्रेम सम्बन्धको अन्त्य। त्यसपछि त उनले विछोडको बेदना पनि गजलमा मिसाउन थाले। जसले गर्दा उनका गजलमा मधुरता आभास भयो। फूलबाट मगमग बासना आउने सुगन्धजस्तै। जुन सुगन्ध उनको गजलमा यसरी पोखिन्छः
घाइते बनाएर छाडेको पनि काम आयो
आज बैशाखी टेकेर साथी मलाम आयो।
रुपैयाँ कमाउन साँच्चै किस्मत चाहिनेरहेछ
गरिबको शहीद हुने पालैमा युद्धविराम आयो।
सबैभन्दा घातक रोग के हो कसैले सोध्यो
प्रश्न नटुङ्गीदै दिमागमा तिम्रो नाम आयो।
***